भिडिओ कन्फरेन्सबाटै अभियुक्तहरूको म्याद थप



कोहलपुर ।

भिडिओ कन्फरेन्समार्फत अभियुक्तहरुको म्याद थप्ने प्रक्रिया प्रदेश नम्बर ५ मा सुरु गरिएको छ । प्रदेश ५ अन्तर्गतका १२ जिल्ला प्रहरी कार्यालय र सो मातहतमा मुद्दा चल्ने ४० वटा इकाईहरुमा अनुसन्धानको सिलसिलामा पक्राउ परेका अभियुक्तहरुको भिडिओ कन्फरेन्समार्फत म्याद थप्न सुरु गरिएको हो ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार बैदवारले अदालती प्रक्रियामा भिडिओ कन्फरेन्समार्फत म्याद थप गर्ने प्रक्रिया मातहतका सबै इकाईहरुमा सुरु भएको बताए ।

कोरोना महामारीका कारण संक्रमण थप फैलिन नदिन भिडिओ कन्फरेन्सको विधि अवलम्वन गरिएको उनको भनाई रहेको थियो । ‘कोरोना महामारीको विद्यमान परिस्थितिमा यसलाई निकै सुरक्षित विधि मान्न सकिन्छ,’ एसएसपी बैदवारले भने ‘समय र खर्च दुबै बचेको छ ।’ भिडिओ कन्फरेन्स मार्फत म्याद थप गर्दा सेवा छिटो प्रवाह गर्न सकिने तथा अपराध अनुसन्धानमा समेत सहजता हुनेछ ।

भविष्यमा यही विधि मार्फत अभियुक्तको बयान गर्ने कार्य र साक्षी उपस्थित गराउने कार्य समेत गर्ने योजना रहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपर दाङ, उच्च अदालत तुलसीपुर, उच्च सरकारी वकिलको कार्यालय तुलसीपुरसँगको सहकार्यमा जिल्लास्तरमा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अनुसन्धानका सिलसिलामा पक्राउ परेका अभियुक्तहरुलाई म्याद थप गर्दा अदालत उपस्थित नगराएरै भिडिओ कन्फरेन्समार्फत गर्न थालिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १२ गते सोमबार