सोसल चेन्जको शाखा बाँकेमा



कोहलपुर ।

एक्सन फर सोसल चेन्ज वेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्रको २६ औँ शाखा बाँकेमा खोलिएको छ । देशभर वेवारिसे लासको व्यवस्थापनका साथै सडक मानवहरुको सेवा गर्दै आएको केन्द्रको शाखा बाँकेमा खोलिएको हो । शनिबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत एक समितिको घोषणा गरिएको छ ।

केन्द्रका अध्यक्ष विनयजंग बस्नेत, सामाजिक अभियान्ता हेमराज थापा र सपना थापामगरको उपस्थितिमा पूजा विश्वकर्माको अध्यक्षतामा ९ सदस्यसीय जिल्ला समिति चयन गरिएको थियो । जसको उपाध्यक्षमा लक्ष्मी पोखरेल, सचिवमा आकृति रसाइली , सह–सचिवमा अन्नपूर्णा पोखरेल र कोषाध्यक्षमा विनिता शर्मा रहेका छन् ।

शाखाका सदस्यहरुमा तुलसी शाही, प्रनिसा ठकूरी, प्रतिमा पाण्डे र अविना वली रहेका छन् । शाखाको कार्यकारी निर्देशकमा भुपेन्द्र बस्नेत र कार्यक्रम संयोजकमा पुनम गुरुङ रहेका छन् । केन्द्रका अध्यक्ष बस्नेतले केन्द्रले देशभरका विभिन्न जिल्लामा वेवारिसे अवस्थामा रहेका शवहरुको व्यवस्थापन गर्ने र सडक मानवहरुको व्यवस्थापन गर्ने गरेका बताएका थिए ।

उनका अनुसार शाखाले अब जिल्लाभरीका सबै स्थानीय तहहरुमा वेवारिसे नागरिकको व्यवस्थापनको काम गर्नेछ । बाँकेमा पहिलो चरणमा भेरी अस्पतालमा वेवारिसे अवस्थामा रहेका शवहरुको दाहसंस्कार गरिने उनले जानकारी दिए ।

यस्तै वेवारिसे व्यक्तिहरुको व्यवस्थापनको लागि घरको समेत व्यवस्थापन भइरहेको छ । कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता यूवा थापाले समाजमा हुने गरेका नराम्रा गतिविधिका विषयमा यूवाहरुले बोल्नु पर्ने बताए । बाँके शाखाकी अध्यक्ष विश्वकर्माले शाखाले देशभर सक्रिय रुपमा सामाजिक कार्य गर्दै आएको भन्दै बाँके शाखा पनि सक्रिय रुपमा अघि बढ्ने बताइन् ।

उनले बाँके जिल्लाका सबै पालिका, प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी अघि बढ्ने बताइन् । ‘हामीले जिल्लामा वेवारिसे अवस्थामा रहेका शवहरुको व्यवस्थापन गर्नेछौं । सडक मानवहरुको व्यवस्थापन पनि हाम्रो मुख्य काम हुनेछ । यहाँको टिम पुरा महिलामय छ ।

समाजका हरेक दुःखी व्यक्ति हाम्रो प्राथमिकतामा हुनेछन्’ उनले भनिन् । एक्सन फर सोसल चेन्ज वेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्रका देशभर यसअघि २५ वटा शाखा विस्तार भइसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १२ गते सोमबार