कोहलपुर ।
पूर्व शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले जनता समाजवादी पार्टीलाई महाशक्तिको रुपमा स्थापित गराइने बताएका छन् । शनिबार बाँकेको कोहलपुरमा जनता समाजवादी पार्टीको कार्यालय उद्घाटन गर्दै उनले जनता समाजवादी पार्टी देशभर एक शक्ति पार्टीको रुपमा विस्तारित भइरहेको बताएका थिए । ‘अहिले तीन वटा पार्टीको समिश्रणबाट एउटा पार्टी बनाएका छौं’ उनले भने, ‘भोली यो देशको नेतृत्व गर्ने पार्टी जसपा हो ।’ केही वर्ष पहिले यी तीन पार्टी स–सना पार्टीका रुपमा थिए ।
तर अहिले एकिकरणपछि पार्टी देशको बैकल्पिक शक्तिका रुपमा स्थापित भइसकेको पूर्वमन्त्री राईले दाबी गरेका थिए । कोहलपुरमा पहिला पार्टीका कार्यकर्ताहरु केही संख्यामा मात्र भएपनि अहिले धेरै जनताको रोजाई जसपा बनेको भन्दै खुसी लागेको उनले बताए । ‘आफ्नो पार्टी बलियो बनाउन केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो कमिटिहरुको विस्तार भएको अवस्था छ’ पूर्वमन्त्री राईले भने, ‘राज्यभित्र पनि विभिन्न जातजाति धर्म, साँस्कृति र भेषभुषाहरुको समिश्रण भइरहेको छ ।’
मधेस आन्दोलन, जनमोर्चा आन्दोलन, कम्प्यूनिष्ट आन्दोलन, काँग्रेस आन्दोलनमा सहभागी भएका महायोद्धाहरु समेत यस पार्टीमा समावेश गरेका उनले दाबी गरे । पूर्व मन्त्री राईका अनुसार यो पार्टी भित्र जनजाति, मधेसी, मुस्लिम, दलित तथा अन्य जातिहरु पनि रहेका छन् । अहिलेको समाजलाई नेतृत्व गर्ने व्यक्तिहरुको आवश्यकता रहेकोमा जोड दिदै उनले पुराना विचार, सोच र धारणालाई परिवर्तन गरी नयाँ योजनाका साथ अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी कोहलपुर नगर अध्यक्ष धर्म प्रसाद धितालले कोहलपुरमा आफ्नो पार्टी कार्यालय औपचारिक रुपमा उद्घाटन गर्न पाउँदा निकै खुसी भएको बताए । उनका अनुसार पार्टीले कोहलपुर नगरबासीहरुले चाहेको जस्तो विकास समृद्धि अझै पाउन नसकिरहेको अवस्थामा हरेक क्षेत्रमा खवरदारी गर्नेछ । ‘कोहलपुर नगरपालिकामा धेरै बेतिथि छन् । त्यसको अन्त्य गरी यहाँको विकास र समृद्धिका लागि लड्नुपर्छ’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्