सम्पादकीय: गुणस्तरहिन सडक बन्छन् किन ?



बाँकेको कोहलपुर नगरपालिकाले गरेका अधिकांश विकास निर्माणका कामहरु विवादमा आउँछन् । नगरपालिकाको आफ्नै लगानीमा हुने विकास निर्माण समेत विवादरहित बन्न सकेका छैनन् । विकास निर्माणका कामहरु गुणस्तरहिन हुने त यहाँको लागि सामान्य कुरा भइसक्यो । यहाँका विकास निर्माणका कामहरु भनेका त जनताको आँखामा छारो हाल्न भएका जस्ता देखिन्छन् । जो लाखौं रुपैयाँ खर्च गरेपनि केही दिनमा भत्किन सुरु गर्दछन् । यो समस्या भनेकोे यहाँको सडकमा देखिन्छ । करोडौं खर्च गरेर कालोपत्रे गरेका सडकहरु समेत केही दिनमा खाल्डाखुल्डी पर्न थालिहाल्छन् । नगरपालिका क्षेत्रमा निर्माण गरिएका अधिकांश सडकहरु कालोपत्रे गरेको छोटो समयमै भत्किने गरेका छन् । पर्दा पछाडि लुकेका यसका कारणहरु भने धेरै हुन्छन् ।

जनताले घरदैलोमा सरकार आएपछि विकास निर्माणका काममा गुणस्तरीयता, छिटो छरितो हुने आशा गरेका थिए । ती आशाहरु निकाशामा परिणत भइसकेका छन् । स्थानीय सरकारले नै गरेका कामहरु अधिकांश मापदण्ड विपरित बनेका छन् । कतिपय अवस्थामा ठेकेदारहरुले कर्मचारी र जनप्रतिनिधीहरुसँग मिलेर मापदण्ड अनुसार काम गर्दैनन् । यस्ता कुरा बेला बेला सामाजिक सञ्जाल र मिडियाबाट सार्वजनिक हुने गरेका छन् । मिडिया तथा स्वंयम् जनताबाट समेत यस्ता कुरा उजागर हुँदा समेत नगरपालिकाका मौन देखिन्छ । यहाँ हुने गरेका विकास निर्माणका काममा पटक–पटक आवाज उठ्दा समेत नगरपालिकाका कानमा तेल हालेर बसेको छ । योजना अनुगमनका नाम राज्य कोषबाट लाखौं रुपैयाँ खर्च भएको सार्वजनिक हुँदा अब योजनाहरु कस्तो किसिमले अनुगमन गरेर भन्ने प्रश्न उठेको छ । अनुगमन समितिमाथि प्रश्न चिन्ह खडा भएको छ ।

अनुगमन समितिले मापदण्ड विपरित भएका कामहरुलाई मापदण्ड अनुसार भएको किन पास गर्छ, किन ठेकेदारलाई कारबाही गर्न सक्दैन भन्ने लगायतका विषयमा कुरा सार्वजनिक रुपमा उठ्न थालिसकेको छ । कालोपत्रे सडकको अवस्थामा मात्र होइन ग्राभेल गरिने सडकको अवस्था पनि त्यस्तै छ । अब स्थानीय सरकारका विरुद्ध आम नागरीकहरुले आवाज उठाएर विकास निर्माणका काम गर्दा दिगो हुनेगरी बताउनुपर्छ । नत्र भने जनताले तिरेकै करबाट तलब खाने जनप्रतिनिधी र कर्मचारीलाई जनताका विरुद्ध जाने अधिकारी पनि छैन । चालू आर्थिक वर्षमा हुने विकास निर्माणका कामहरु कोहलपुर नगरभित्र मापदण्ड अनुसार हुन्छन् की हुँदैनन् त्यो भने हेर्न केही महिना कुर्नुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १ गते बिहीबार