17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

भोलीबाट लामो दुरीका यातायात चल्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७  

कोहलपुर ।

सरकारले ६ महिनायता बन्द रहेको लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । भोली असोज १ गतेदेखि लागू हुने गरी सरकारले औपचारिक रुपमा यातायात सञ्चालनमा ल्याउने निर्माण गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार जानकारी दिए ।

उनका अनुसार संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ । यस्तै बाँकेका यातायात व्यवसायीहरुले पनि भोलीदेखि नै यातायात सञ्चालनमा ल्याउने निर्णय गरेका छन् । बाँकेस्थित नेपाल यातायात मजदुर संगठन, अखिल नेपाल मजदुर संगठन र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गरी तीन वटा यातायात संगठनहरुले यस्तो निर्णय गरेका हुन् ।

राष्ट्रिय यातायात व्यवसायी महासंघ बाँके जिल्ला संयोजक टंक बस्यालले बाँके जिल्लाको हकमा असोज १ गते बिश्वकर्मा बाबाको पुजा गरेर सवारी सञ्चालन गरिने बताए । ‘स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर असोज १ गते देखिनै सवारी साधन सञ्चालनमा ल्याउने छौं । महामारीको कारणले व्यवसायीहरु धरासायी बन्ने अवस्थामा पुगेको भन्दै सवारी साधन चलाउनुको बिकल्प छैन’उनले भने ।

यस्तै अखिल नेपाल यातायत व्यवसायी महासंघका केन्द्रीय उप–महासचिव राज कुमार बिसीले सवारी साधनमा काम गर्ने मजदुर र यात्रुको सुरक्षाको उपकरणको प्रयोग गर्नेका लागि समेत व्यवस्था मिलाइएको जानकारी दिए । ‘यातायातका साधन सञ्चालन पूर्व मजदुरहरुको कोरोना बिमा गरिदिएको छ’ उनले भने, ‘लकडाउनका कारण मजदुरहरु भोकै बस्ने अवस्था सृजना भएको भन्दै सुरक्षा मापदण्ड पुरा गरेर सार्वजनिक सवारी साधन चलाउन बाध्य भएको छौ ।’

प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७     9:51:05 AM  |