30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

कोरोना संक्रमित पन्ध्र सय नाघे, बाँकेमा १०७८ जना डिस्चार्ज, सक्रिय संक्रमित ४२६ जना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७  

कोहलपुर ।

बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक हजार पाँच सय नाघेको छ । मंगलबार थप ४३ जना संक्रमित थपिएपछि संक्रमितको संख्या एक हजार पाँच सय नाघेको हो । जिल्लाका दुई प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप ४३ जनामा कोरोना पुष्टि भएको थियो ।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ४१ र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै नेपालगञ्ज उप–महानगरपालिका ३० जना रहेका छन् ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेका ६ जना, खजुरा गाउँपालिकाका ३ र कोहलपुर नगरपालिकाका एक जना छन् । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय १२ पुगेको छ । बाँकेमा मंगलबार पत्रकार दामोदर भण्डारीसहित डाक्टर, नेपाल प्रहरी, विभिन्न बैंकका कर्मचारी लगायत ४२ जना कोरोना जितेर घर फर्किएका थिए ।

जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका १८ महिला र २४ पुरुष गरी ४२ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोना जित्नेको संख्या एक हजार ७८ पुगेको छ ।

मंगलबार साँझसम्म जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा ४ सय २६ जना सक्रिय संक्रमितहरु रहेका छन् । कोरोना संक्रमणका कारण बाँकेमा अहिलेसम्म बाँकेमा ८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७     9:44:45 AM  |