कोहलपुरका किशोरीहरुको माग ‘बालबालिकाको पीसीआर परीक्षण गरियोस्’



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका क्षेत्रका बालबालिकाहरुले कोहलपुर क्षेत्रका बालबालिकाकाहरुको अनिवार्य पीसीआर परीक्षणको माग गरेका छन् । बाल दिवसको अवसरमा कोहलपुर नगरपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै कोहलपुरका बालिकाहरुले कोहलपुरस्थित क्वारेन्टिन तथा आइसोलेसनहरु बालमैत्री बनाउनुका साथै अनिवार्य पीसीआर परीक्षणको माग गरेका हुन् ।

कोहलपुर वडा नम्बर १२ र १३ मा रहेको सचेतन किशोरीद्धारा सोमबार नगरप्रमुख लुट बहादुर रावतलाई ११ बुदेँ माग पत्र बुझाउँदै किशोरीहरुले नगर क्षेत्रका बालबालिकाको सुरक्षाका लागि नगरपालिका क्रियाशिल हुनुपर्ने माग गरेका थिए । क्लबका अध्यक्ष भावना भूसाल र सचिव शलुजा केसीद्धारा हस्ताक्षरित विज्ञप्तिमा लकडाउनको अवधिमा मात्रै कोहलपुर १२ वटा बालविवाह भएको पाइएकोले बालविवाह न्युनिकरणका लागि नगरपालिकाको गम्भीर ध्यानकर्षण हुनुपर्ने माग गरिएको छ ।

‘नगरमा बालविवाह न्युनिकरणका लागि कार्ययोजना बनाई बजेट छुट्याउनुपर्छ । बालविवाह विरुद्धको अभियान सञ्चालनको लागि नगरक्षेत्रमा फोकल पर्सन तोक्न पहल गरियोस् । नगरपालिकाको नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता होस् ।’ क्लब अध्यक्ष तथा सचिवद्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । यस्तै शिक्षाबाट बञ्जित भइरहेको बालबालिकाहरुको लागि भर्चुअल कक्षा सञ्चालन गर्नुका साथै बालबालिका सम्बन्धि विशेष प्याकेट ल्याउनु पर्ने र नगरपालिकालाई बालविवाह मुक्त बनाउन पहल चाल्नुपर्ने माग गरिएको छ ।

यसैगरी बालबालिका विरुद्ध हुने हरेक प्रकारका हिंसा र दुव्र्यवहार विरुद्ध नगरपालिका सक्रिय हुनुपर्ने र छुकिछिपी हुने गरेका बालविवाह बारेमा सरोकारवालाहरुको समन्वय गरी अभियान थाल्नुपर्ने र बालविवाह रोकथाम नगरपालिकाको प्रमुख प्राथमिकता बन्नु पर्ने माग गरिएको छ । किशोरीहरुको माग पत्र बुझ्दै नगरप्रमुख रावतले नगर क्षेत्रका बालबालिकाहरुको क्षेत्रमा हुने हरेक सकारात्मक गतिविधिमा नगरपालिका सहयोग गर्न तयार रहेको बताए । उनका अनुसार कोभिड–१९ महामारीको समयमा बालबालिकामा उठाएका माग जायज छन् । नगरपालिकाले यस तर्फ पहिलेदेखि नै ध्यान दिएको बताए ।

यता नगर स्वास्थ्य शाखा कोहलपुरका प्रमुख डिल्लीराज पोखरेलले परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएका बालबालिकाहरुको सुरक्षा र उपचारको लागि निकै संवेदनशिलता अपनाइएको बताए । उनले बालबालिकालाई कोरोना पुष्टि भएमा आवश्यक स्वास्थ्य सुरक्षा सहित आमा पनि सँगै राख्ने र आमालाई कोरोना भएमा उनीहरुका बच्चाहरुको समेत सुरक्षाका राख्ने व्यवस्था मिलाउनुका साथै कुरुवाको समेत व्यवस्था गरिएको जानकारी दिए । कोहलपुरमा रहेका क्वारेन्टिन र आइसोलेसनमा बालबालिका मात्रै नै रहेको उनको भनाई छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ३० गते मंगलबार