दाङ ।
कोरोना भाइरसले गर्दा दाङको इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्ष खाली भएको छ । कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) शिवबहादुर सिंहका अनुसार बुधबार चार थुनुवा रिहा भएसँगै थुनुवा कक्ष खाली भएको हो । इलाका प्रहरी कार्यालयमा ७० थुनुवा राख्नसक्ने क्षमता रहेको छ ।
उनका अनुसार जघन्य अपराध गरेका बाहेक सामान्य झै–झगडाका घटनाहरु छलफल गरेर टुङ्गयाउने गरिएको छ । विभिन्न जिल्लाका थुनुवा कक्षमा पनि कोरोना सङ्क्रमण पुष्टि भएकाले तुल्सीपुर क्षेत्रमा त्यस्तो खालको समस्या नआओस् भनेर छिटो अनुसन्धान गरी थुनुवा कक्ष खाली गरिएको उनले बताए ।
लागुऔषधको ९० दिन र अन्य अपराधको २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने भए पनि पछिल्लो समय लागुऔषधको ३०-४० दिन र अन्य अपराधको ८-१० दिनमै सबै प्रक्रिया पूरा गरेर सङ्क्रमित हुनसक्ने कुरालाई मध्यनजर गरी थुनामुक्त गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
तुलसीपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको कारण आपराधिक क्रियाकलापमा कमी आएको उनको भनाइ छ । तुलसीपुरको प्रहरी कार्यालयमा राखिएका थुनुवाहरुलाई यसअघि समेत कोरोना संक्रमण पुष्टि भएको छैन । त्यसैले कार्यालयमा उच्च सर्तकता अपनाएर काम गर्ने गरिन्छ ।









प्रतिक्रिया दिनुहोस्