‘भोक लागेको बेला रुन्छ । दूध खुवाइदिए भने हाँस्छ । हदै भए ६७ वर्षकी हजुरआमाले सुकेका दूधका थुन चुसाउँछिन् । ती बढी हजुरआमालाई आफ्नो भन्दा धेरै पीर डेढ महिने दूधे बालकको लाग्छ ।’
शुभाकर विश्वकर्मा, कोहलपुर ।
भदौ १४ गते जुम्ला र कालिकोटको सिमानामा रहेको नाग्म बजारमा सुख्खा पहिरो गयो । पहिरोमा परी कुल १० जनाले अकालमा ज्यान गुमाए । पहिरोमा परि ज्यान गुमाउने मध्ये, कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मगाउँका एक दलित दम्पति पनि थिए ।
सोही दिन बिहान साढे सात बजेतिर भिरालो भीरबाट खसेको पहिरोले चार घर पुर्दा श्रीमान, श्रीमतीसहित छोराको पनि मृत्यु भएको थियो । उनीहरु थिए, नाग्म बजारदेखि पैदलमा पुगिने नाग्मगाउँका टेकबहादुर दमाई र चाइलु दमाई । उनीहरुको मृत्युपछि डेढ महिने छोरा, ६७ वर्षीया बृद्धा सहित दुई जना छोरीहरुको बिचल्ली भएको छ ।

कालिकोट र जुम्लाको सिमानामा रहेको नाग्म पहिरोमा आमा बाबा गुमाएका डेढ महिने बालक आयुष, हजुरआमाका साथमा । तस्बिर :मिसन
पहिरो गएको ११ औं दिनमा आइपुग्दा डेढ महिनाका अबोध बालक आयुष दमाई जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन् । घरको आर्थिक अवस्था समेत कमजोर रहेका दमाई परिवार यतिबेला सहयोगको याचना गरिरहेको छ । पहिरोमा परेर मृत्यु भएका दमाई दम्पति नाग्ममा सामान्य पसल चलाउँथे । लकडाउन भएपछि उनीहरु घर गए । लामो समय गाउँमै बसे ।
दिन बिते, हप्ता बित्योे, महिना बिते लकडाउन खुल्ने सुरसार देखिएन । कालिकोट र जुम्लामा कोरोना संक्रमित बढिरहेकाले निषेधाज्ञा लगाइएको थियो । १४ गते बिहानै ६ बजे टेक श्रीमती चाइलु र जेठो छोरासँगै बजार हिडे । गाउँबाट बजार पुग्न १ घण्टा लाग्छ । बुढी आमालाई एकसरो लुगा, छोराछोरीलाई चाहिने लत्ताकपडा र घरको लागि आवश्यक कुरा किन्ने भनेर हिडेका उनीहरु कहिल्यै फर्किएनन् ।
डेढ महिने आयुषको छैन आहारा
डेढ महिनाको बालक । घण्टाको अन्तर दूध खुवाउनुपर्छ । आमाको अमृत समान दूधको साहारामा बाँच्नुपर्ने नाबालकको आहारा त्यही पहिरोले खोस्यो । त्यो दिन आयुषलाई हजुरआमाको साथमा छोडेर आएका आमाबुबा भगवानको प्यारो भए । आमा गुमाउनुको पीडा त्यो अबोध नाबालकलाई के थाहा । भोक लागेको बेला कराउँछ । छिमेकीले दूध खुवाइदिए भने हाँस्छ । हदै भए ६७ वर्षकी हजुरआमाले सुकेका दूधका थुन चुसाउँछिन् । ती बुढीलाई आफ्नो भन्दा धेरै पीर डेढ महिने दुधे बालकको लाग्छ ।
आयुषकी ६७ वर्षीय हजुरआमा बिजेसरा दमाई भन्छिन्, ‘छोराबुहारी लिनुभन्दा पहिरोले मै बुढीलाई लिएको भए हुन्थ्यो । उनलाई दूध खुवाउने कोही पनि छैन । मेरो भन्दा यसको चिन्ताले सताउँछ ।’ आयुष मात्रै होइन तीन वर्षीया दिदि करिस्मा दमाई र ५ वर्षीया पूर्णिमा दमाई समेत साहारा विहीन छन् । अभाव, पीडा र दुःखको कालो पहाडले धपक्क ढाकेको छ उनीहरुलाई । ११ दिन भयो ६७ वर्षीया दमाईका आँखा ओभानो छैनन् । दुधे नाबालक काँखमा च्यापेर छोरा बुहारीको प्रतिक्षा गर्छिन् उनी । बुहारी कतिबेला आउँलिन, नाती भोकले मर्न लागिसक्यो । सम्झिएर त्यो भयानक दृष्य, आँखामा टिलपिल आँशु झार्दै रुन्छन् । भोकले बालक रुन्छ, नातिनीहरु भोक लाग्यो भन्दै पिठ्युमा आउँछन् । उनलाई सबै भन्दा ठूलो पीर आयुषको छ ।
कति पाल्ने, हुर्काउने र पढाउने । ‘है दैव कसको पापी आँखा लाग्यो मेरो नातिलाई । के दोष थियो र यो नाबालकको’ उनले भनिन् । अहिले छिमेकीहरुले सहयोग गरिरहेका छन् । डेढ महिने बालकको हेरचाह गरिरहेकी हजुर आमा बिजेसरा आमाको मृत्युपछि दुध किनेर खुवाइने पैसा नभएपछि आयुष छट्पटाइरहेको बताउँछिन् । पछिल्लो समय उनको परिवारलाई सहयोगी हातहरु जुट्न थालेका छन् । एक बृद्ध र ढेड महिने बालकको सहयोगको लागि जुम्ली युवा स्वंयम्सेवक समुहले डेढ महिनाका आयुष बचाउ अभियान सुरु गरेको छ । जुम्लाका युवाले डेढ महिनाका बालकलाई बचाउनका लागि अभियान सुरु गरेका हुन् ।
अभियान अन्तर्गत अहिलेसम्म केही लाख रकम जम्मा भएको समुहका सदस्य धनराज सुनारले जानकारी दिए । उनका अनुसार नाग्म बजारमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकमा सम्बन्धित वडाका अध्यक्षको रोहोबरमा १२ हजारको खाता खोलेर आर्थिक संकलन अभियान सुरु गरिएको हो । जुम्लाको तिला र हिमा गाउँपालिकाले ५०/५० हजार सहयोग गरेका छन् । उनीहरुको अवस्था बुझ्न केहीदिन अघि समुहको टोली कालिकोट पुगेको थियो । उनीहरुको अवस्था अत्यन्तै नाजुक भएको उनले बताए । जुम्ला जिल्लाका अन्य सहयोगहरुबाट पनि सहयोग संकलन भइरहेको छ । यता तिलागुफा नगरपालिका वडा नम्बर १ का अध्यक्ष दलबहादुर कटुवालले उक्त परिवारको अवस्था दयनीय रहेको बताउँछन् ।
उनका अनुसार उक्त परिवारको तत्काल खर्च जोहो गर्नको लागि वडाले १० हजार रुपैयाँ सहयोग गरेको छ । उनीहरुको दीर्घकालिन व्यवस्थापन, दूधे बालक, बृद्धा र दिदिहरुको व्यवस्थापनको लागि नगरपालिकासँग समन्वय भइरहेको छ । ‘ती बालकको आमा बुबाको पहिरोमा परी मृत्यु भएको हो । अहिले बृद्धा र दुई दिदि मात्रै छन् । आर्थिक सहयोगको लागि हामीले सबैलाई अपिल गरेका छौं ।’ मिसन टुडे दैनिकसँग कुराकानी गदै उनले भने । कर्णाली प्रदेश सरकारले पनि उक्त पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई २ लाख दिने घोषणा गरेपनि अझै दिएको छैन ।









प्रतिक्रिया दिनुहोस्