सुदीप अधिकारी । बर्दिया ।
बर्दियामा कोरोना संक्रमित हुनेको संख्या दिनहुँ बढ्दो छ । मंगलबार एकैदिन १९ जना संक्रमित थपिएका छन् । यी सबै बाँसगढी नगरपालिका क्षेत्रमा रहेको एक उद्योगमा काम गर्ने मजदुर रहेको बताईएको छ । योसँगै बर्दियामा कोरोना संक्रमितको संख्या ४३४ पुगेको तथ्यांक जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छ । जसमा पुरूष ३१३ र महिला १२१ रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले ४९ पुरूष र ५९ महिला गरि जम्मा १०८ जना आईसोलेसनमा उपचाररत छन् । यसैगरि १२९ पुरूष र ४५ जना महिला गरि १७४ जना क्वारेन्टिनमा रहेका छन् । कुल कोरोना संक्रमित मध्ये हालसम्म ३२५ जना कोरोना निको भएर घर फर्केका छन् ।
हालसम्म जिल्लामा १० हजार १३३ जनाको पीसीआर परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोरोना संक्रमित मध्ये जिल्लामा हालसम्म १ जनाको मृत्युु भएको छ । समुदायमा कोरोना संक्रमण फैलन नदिन जिल्लामा पीसीआरको दायरा पनि बढाईएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए । समुदायमा संक्रमण फैलिन नदिन बाँसगढी नगरपालिका क्षेत्रलाई सोमबारदेखि एकसाताका लागि सिल गरिएको छ ।
आईतबार बाँसगढीमा रहेको चौधरी गुप्रको चाउचाउ फ्याक्टिमा काम गर्ने ४२ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि समुदायमा कोरोना फैलनबाट रोक्न बाँसगढी क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । अहिले सो क्षेत्रमा कन्ट्याक्ट् टेसिङ्गका आधारमा पीसीआर जाँचका लागि स्वाब संकलन भईरहेको बताईएको छ ।
जिल्ला प्रशासन कार्यालयले पछिल्लो समय बजार अनुगमन गर्ने कामलाई तिब्रता दिएको छ । सुरक्षा सावधानी नअपनाई व्यापार व्यवसाय गर्ने व्यापारीलाई चेतावनी दिने गरिएको छ । पसल अगाडि अनिवार्य सावुन पानी, सेनेटाईजर राख्नुपर्ने, भौतिक दुरि कायम गरेर मात्र व्यवसाय गर्न र बजारमा भिडभाड नगर्न अनुरोध गरेको छ ।









प्रतिक्रिया दिनुहोस्