एकैदिन दुई संक्रमितको मृत्यु



नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगञ्ज र कोहलपुरमा गरी मंगलबार बिहान २ जना कोरोना संक्रमित विरामीको मृत्यु भएको हो । उनीहरुको बिहान उपचारको क्रममा केही घण्टाको फरकमा मात्र मृत्यु भएको थियो । मृतक पुरुष अर्घाखाँची र महिला बाँके जिल्लाका रहेका छन् ।

कोहलपुर ।

बाँकेमा विभिन्न अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको एकैदिन मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा एक महिला र कोहलपुर एक पुरुष गरी २ जनाको एकैदिन मृत्यु भएको थियो । मंगलबार बिहान अस्पतालमा उपचार गराइराखेका २ जना संक्रमितको उपचारकै क्रममा केही घण्टाको फरकमा मृत्यु भएको हो ।

बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले मंगलबार बिहान ७ बजे नेपालगञ्ज उप–महानगरपालिका–१६ की ८० वर्षीया महिलाको र बिहान ९ः२० बजे अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ का ४२ वर्षका पुरुषको मृत्यु भएको थियो । शिक्षण अस्पताल नेपालगञ्जमा २१ भदौदेखि उपचार गराइराखेकी मृतक महिलालाई मधुमेह र उच्च रक्तचापको समस्या रहेको उनले बताए । ‘महिलालाई सुरुदेखि नै मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो’ उनले भने, ‘उहाँको दुबै फोक्सोमा समेत निमोनिया देखियो ।’

उनको मृत्युपछि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक महिलाको सोमबार स्वाब संकलन गरि परीक्षणका लागि भेरी अस्पतालको ल्यावमा पठाइएको थियो । कोरोना स्रोत व्यक्ति श्रेष्ठका अनुसार उनको मृत्युपछि मात्र मंगलबार दिउँसो कोरोना पोजिटिभ रिपोर्ट आयो । २७ साउनमा दुर्घटना परी युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना भएका अर्घाखाँचीका मृतक ४२ वर्षिय पुरुष ११ भदौमा शिक्षण अस्पताल कोहलपुरमा रिफर भएर आएका थिए । उनको ५ भदौमा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

मृतक टिप्पर चालक हुन् । सिभियर निमोनिया रहेका ४२ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान ९ः२० बजे मृत्यु भएको थियो । योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । नेपालगञ्ज उप–महानगरपालिकामा मात्र कोरोनाबाट ५ जनाको मृत्यु भइसकेको छ । यसअघि पनि शिक्षण अस्पताल कोहलपुरमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका कैलाली, बर्दिया र अछामका एक–एक जनाको मृत्यु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २४ गते बुधबार