19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

सम्पादकिय : नमूना बसपार्क बनाऊ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ १९, २०७७  

बाँकेको दोस्रो ठूलो शहर कोहलपुर तीव्र विकासको चरणमा छ । यहाँका वर्षेनी ठूला आयोजनाहरु सञ्चालन भइरहेका छन् । कोहलपुर नगरपालिकाले समेत गौरवका आयोजनाहरुलाई प्राथमिकता दिइरहेको छ । यस्तै गौरवका आयोजनामध्ये एक नेपालकै नमूना लामो दुरीको बसपार्क निर्माण हुने चरणमा छ । कुल ४५ करोड लागतमा बन्नेगरी यो योजना बनाइएको छ । यसलाई पहिलो चरणमा डीपीआर बनाउने क्रममा ५३ करोड जति खर्च लाग्ने अनुमान गरिएको थियो तर कोहलपुर नगरपालिको आन्तरिक श्रोतले नभ्याउने भएपछि ८ करोड कम लागतमा निर्माण हुनेछ । कोहलपुरबासी कोहलपुरको विकास र समृद्धि भएको हेर्न चाहान्छन् ।

अहिले पनि कोहलपुर नगर विकाससँग लगभग ६ कठ्ठा जमिन २५ वर्षका लिजमा लिनका लागि कोहलपुर नगर विकासले निर्णय समेत गरेको छ । तर कोहलपुर नगरपालिकाले २५ वर्षका लागि भन्दा पनि सम्पूर्ण जग्गा नै कोहलपुर नगरपालिकाको नाममा उक्त राखिदिएको भए राम्रो हुने थियो । अहिले सो बसपार्क निर्माण गर्दा आर्थिक समस्या हुने भएपछि पहिलो र दोस्रो चरणमा बसपार्क निर्माण गर्ने भनिएको छ । अत्याधुनिक सुविधा सहितको बसपार्क निर्माण हुन अझै केही वर्ष लाग्ने पक्का छ ।

बसपार्कमा बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्सको समेत व्यवस्था रहेको छ । बसपार्क र सपिङ कम्प्लेक्सको रुपमा डिजाइन गरिएको छ । जसमा तिन वटा प्लेटफर्म राखिएको छ । जसमा लामो दुरीको लागि, स्थानीय बसहरु र अटो, इ—रिक्सा, प्राइभेट गाडिहरु पार्किङ राख्न मिल्ने गरी तिन वटा प्लेटफर्म तयार गरिएको छ । जसको बीचमा ५ तलाको सपिङ कम्प्लेक्स बनाइएको छ । जे होस कोहलपुरको गौरवको योजनाको रुपमा रहेको यो बसपार्क नमूना बनाउनैपर्छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ १९, २०७७     10:29:37 AM  |