दुर्गादेवी र राधाकृष्णको मूर्ति निर्माण हुने



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर– ३ मदनचोकस्थित श्री शंकर भगवान मन्दिरमा दुर्गादेवी र राधाकृष्णको मूर्ति निर्माण हुने भएको छ । कोहलपुरका समाजसेवीहरुको सहयोग तथा लगानीमा मन्दिर परिसरमा दुर्गादेवी र राधाकृष्णको मुर्ति निर्माण हुन गइरहेको हो । उक्त मन्दिरमा नेपालकै सबैभन्दा अग्लो ७५ फिटको हनुमानको मूर्ति निर्माण कार्य सम्पन्न भएको छ । अहिले त्यहाँ होमकुण्ड समेत निर्माण भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका स्थानिय द्रोणप्रसाद जैशीले व्यक्तिगत ४० लाखमा उक्त मन्दिर निर्माण गरेका थिए । अहिले त्यहाँ विभिन्न भगवानका मूर्ति निर्माण गर्ने लहर नै चल्न थालेको छ । मन्दिर व्यवस्थापन समितिका सचिव छविलाल आचार्यका अनुसार मन्दिर चोकका एकजना दम्पत्ति र अर्का समाजसेवीले मूर्ति निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनका अनुसार उनीहरुले त्यहाँ दुर्गादेवी तथा राधाकृष्णको मूर्ति निर्माण गर्नेछन् । सचिव आचार्यले कोहलपुरका समाजसेवी प्रदिप शाह र उनकी धर्मपत्नी उषा शाहको सहयोगमा दुर्गादेवीको मूर्ति निर्माण हुन गइरहेको हो । उक्त मन्दिरको शुक्रवार दुवैजनाले एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् । अहिले मूर्ति निर्माण कार्य शुरु भइसकेको छ ।

मूर्ति निर्माणको लागि सम्पूर्ण खर्च शाह दम्पतिले नै व्यहोर्नेछन् । मूर्ति निर्माणको लागि १ लाख बढी रकम लाग्ने अनुमान गरिएको सचिव आचार्यले जानकारी दिए । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ३ का अर्का समाजसेवी नरेन्द्र कर्माचार्यले समेत राधाकृष्णको मूर्ति स्थापना गर्ने बताएको उनले बताए । मूर्ति निर्माणका लागि समितिले आधिकारिक रुपमा निर्णय समेत गरिसकेको छ । मन्दिरले सामाजिक तथा संस्कृति संरक्षण गरिरहेको सचिव आचार्यले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १८ गते बिहीबार