सुर्खेत ।
सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर १० र ११ मा सशस्त्र प्रहरीको प्रदेशस्तरीय तालिम केन्द्र निर्माण हुने भएको छ । गुर्भाकोटका दुईवटा वडा जोड्ने भालेदमार भन्ने स्थानमा सशस्त्र प्रहरीको कर्णाली प्रदेशस्तरीय तालिम केन्द्र बन्ने भएको हो ।
आइतवार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसहितको एक टोलीले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ । टोलीले त्यहाँका स्थानीयसँग अन्तरक्रिया गर्नुका साथै तालिम केन्द्र निर्माण गर्ने जग्गाको अवलोकन गरेको थियो ।
अनुगमन टोलीमा प्रदेश सांसद ठम्मर विष्ट र सशस्त्रका डिआईजी हरिशचन्द्र अधिकारीको समेत सहभागिता रहेको थियो । प्रदेश सरकारले उक्त स्थानमा तालिम केन्द्रको निर्माणको लागि बजेट छुट्याएको प्रदेशका मन्त्री भण्डारीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्ष भित्रै सबै प्रक्रिया पुरा गरेर निर्माण कार्य शुरु हुनेछ । ‘बजेट विनियोजन भइसकेको छ । जग्गाको अनुगमन भयो । स्थानीय समेत जग्गा दिन तयार छन् । प्राविधिकले समेत जग्गाको अध्ययन सम्पन्न गर्ने वित्तिकै प्रक्रिया पुरा गरेर काम शुरु हुन्छ’ मन्त्री भण्डारीले भने । प्रदेश सांसद विष्टले गुर्भाकोटमा तालिम केन्द्र निर्माण प्रक्रिया शुरु भएको बताए ।
उनका अनुसार अब अन्य प्रक्रिया समेत अघि बढ्नेछन् । अनुगमन टोली र स्थानीयले यही ठाउँमा तालिम केन्द्र निर्माण गर्नुपर्ने निष्कर्ष निकालेका छन् । त्यहाँका स्थानीयहरुले भने गाउँ मै सशस्त्र प्रहरीको प्रदेशस्तरीय तालिम केन्द्र निर्माण हुने भएपछि खुसी व्यक्त गरे । सुर्खेत पुर्वी क्षेत्रमा पर्ने गुर्भाकोट विकासको हिसाबले पछाडी समेत परेको छ । तालिम केन्द्र स्थापना भएपछि नगरपालिकामा बन्ने यो नै पहिलो ठूलो सरकारी कार्यालय बन्नेछ ।









प्रतिक्रिया दिनुहोस्