कोहलपुर ।
पुर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको शमशेरगञ्जमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–१ को कुसुमबाट सर्पले टोकेको बच्चालाई उपचार गर्न नेपालगञ्ज ल्याउने क्रममा मोटरसाइकल ट्रकमा ठोक्किदा दुर्घटना भएको हो ।
बाँकेको शमशेरगञ्जमा रहेको सशस्त्र प्रहरी क्याम्पस अगाडि इन्ट्री गर्न उभिएको ना ४ ख २१३९ नम्बरको ट्रकमा भे ८ प २२३८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । सो दुर्घटनामा परेर मोटरसाइकल चालक कुसुमका चेवन देवकोटा र लिलाधर खड्काको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
छिमेकी खड्कालाई सर्पले टोकेपछि देवकोटाले मोटरसाइकलमा राखेर उपचारका लागि नेपालगञ्ज ल्याउँदै थिए । सोही क्रममा आइतबार बिहान करिब तीन बजेको समयमा ट्रकमा मोटरसाइकल ठोक्किएको थियो । देवकोटाले मोटरसाइकल चलाएका थिए भने लिलाधरलाई समातेर उनकी आमा कौशिला बसेकी थिइन् । दुर्घटनामा कौशिला घाइते भएकी छन् । दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि ल्याउने क्रममा चालक देवकोटाको बाटोमा मृत्यु भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुरका अनुसार, सर्पले टोक्दा बिरामी भएका र दुर्घटनामा परेर घाइते भएका बालक खड्काको बिहान १०ः२० बजे भेरी अस्पताल, नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुवै जनाको भेरी अस्पतालमा पोस्टमार्टम गरेर आफन्तलाई शव जिम्मा लगाइएको बाँके प्रहरीले जनाएको छ । बालकको उपचारका लागि गएका दुई जनाको मृत्यु र एक जना घाइते भएपछि कुसुम गाउँ शोकमा डुवेको छ । ट्रक र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्