च्यामा–सैनिक सडकखण्ड जीर्ण, सवारी आवागमनमा सास्ती



यानबी साहु । कोहलपुर ।

बाँकेको बैजनाथदेखि खजुरा जोड्ने च्यामा–सैनिक सडकखण्ड जीर्ण बन्दै गएको छ । मर्मत सम्भारको अभाव र सडकको क्षमताभन्दा बढी सामान बोकेर सवारी–साधन गुड्न थालेपछि करिब ३३ किलोमिटर सडक जीर्ण बन्दै गएको हो । तत्कालिन जिल्ला विकास समिति बाँके अन्तर्गत रहेको एसएनआरडिपी मार्फत जिल्ला प्राविधिक कार्यालयले सो सडक निर्माण सम्पन्न गरेको थियो । निर्माण सम्पन्न भइसकेपछि करिव २०७४ सालमा पूर्वाधार विकास कार्यालय नेपालगञ्जलाई हस्तान्तरण गरेको थियो ।

लामो समय मर्मत सम्भार नहुँदा अहिले सडक जीर्ण बन्दै गएको हो । सडक निर्माण भएदेखि मर्मत सम्भारमा सरोकारवाला निकायले ध्यान नदिँदा अहिले पुरै सडकखण्ड कालोपत्रे उप्किएर बिच सडककै ठूल्ठूला खाल्डा परेका छन् । बैजनाथ गाउँपालिकाको च्यामादेखि खजुरा गाउँपालिकाको सैनिकसम्मको करिव ३३ किलोमिटर सडकखण्डमध्ये बैजनाथतर्फको भाग बढी जीर्ण बनेको छ । बैजनाथ–२ डिगियादेखि वडा नं.६ सम्मको पुरै सडक काम नै नलाग्ने गरेर त्यस क्षेत्रमा ठाउँ ठाउँमा ठूल्ठूला खाल्डाखुल्डी परेका छन् ।

डिगियादेखि लालपुर न्यू हरियाली सामुदायिक वन क्षेत्रको पूरै भागमा कालोपत्रे उप्किएर ठूला ठूला खाल्डाहरु बनेका छन् । यस्तै वडा नं.६ कै मुख्य बजार क्षेत्रको सम्झना बजारदेखि दक्षिणतर्फ जेठी नालासम्मको पूरै भाग पनि कालोपत्रे उप्किएर बिच सडकमा नै ठाउँ ठाउँमा खाल्डाखुल्डी परेका छन् । यसले गर्दा एकातिर बजार क्षेत्रको बजार क्षेत्रको सौन्दर्यलाई कुरुप बनाएको छ भने अर्कोतर्फ सवारी आवागमन भई सडक दुर्घटनाको जोखिम समेत बढेको छ । यस्तै सम्झना चोकदेखि एच गाउँ जोड्ने जेठी नालामा रहेको पक्की पुल समेत जीर्ण बन्दै गएको छ । पुलको विच भागमा ठाउँ ठाउँमा खाडल परेर सरिया निक्लिएको अवस्था छ ।

उक्त क्षेत्रको सडकसँगै पुल पनि दिन प्रतिदिन जीर्ण बन्दै गएपछि सवारी आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ । सडक जीर्ण बन्दै गएपनि मर्मत सम्भारमा कसैले पनि चासो नदिएको स्थानियले गुनासो गरेका छन् । सरोकारवाला निकायमा यसबारे जानकारी गराउँदा सडक हस्तान्तरण तथा सूचिकृत नभएको, आफ्नो कार्य क्षेत्र नपर्ने गरेको जवाफ दिने गरेको स्थानीय बताउँछन् । सम्झना चोकदेखि दक्षिणतर्फ बजार क्षेत्रकै सडकमा कालोपत्रे उप्किएर ठूल्ठूला खाल्डा परेकोले घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । हिलो धुलाको कारण पैदल यात्रु र सडक वरपरका घरहरुमा सास्ती हुने गरेको छ ।

बैजनाथ, ६ का स्थानीय देब बहादुर केसीले बैजनाथको मुख्य बजार सम्झना चोक नजिकैको सडक क्षेत्रको अवस्था एकदमै दयनिय रहेको बताए । सोही सडक भएर ठूला सवारी साधनहरु समेत आवागमन गर्ने भएकाले बजार क्षेत्र नजिकै बिच सडक कालोपत्रे उप्किएर ठूल्ठूला खाल्डा परेकोले दुर्घटनाको जोखिमसँगै स्थानीयलाई सास्ती हुने गरेको बताए । आफूहरुले सडक मर्मतका लागि गाउँपालिका, वडा कार्यालयमा जाँदा पनि उक्त सडक गाउँपालिकामा हस्तान्तरण तथा सूचिकृत नभएको भनेर जवाफ दिने गरेको बताए । ‘हामीहरु सडक मर्मतको लागि भनेर गाउँपालिका, वडापालिकामा डेलिगेशनमा पनि गर्यौ’ उनले भने, ‘उहाँहरुले गाउँपालिकालाई हस्तान्तरण नगरेकोले बजेट विनियोजन गर्न हुन नसकेको बताउनुहुन्छ ।’

यस्तै वडा नं.२ का स्थानिय तुलसिङ विष्टले सडक साघुँरो र बिच सडकमै खाल्डाखुल्डी भएकाले दुर्घटनाको जोखिम रहेको बताए । रातको समयमा आवतजावत गर्न झनै समस्या रहेको उनले बताए । ‘दिउँसोको समयमा नै आउजाउ गर्न समस्या छ ।’ उनले भने, ‘रातीको समयमा त झनै दुर्घटनाको जोखिम छ । यसतर्फ सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।’ आवतजावतमा निकै समस्या हुने गरेकोले छिटो मर्मत सम्भार गर्नुपर्ने उनको भनाई छ । सोही सडकमा दैनिकजसो ओहोरदोहोर गर्ने अटोरिक्सा चालक दल बहादुर थापाले सडको दुरावस्था रहेको बताए । आफू दैनिजसो सोही सडक भएर ओहोर दोहोर गर्ने भएकाले सडकमा हिलोधुलोका कारण अटो रिक्सा चलाउन निकै सास्ती हुने गरेको बताए ।

‘सडकमा खाल्डाखुल्डी परेका छन्’ उनले भने, ‘ठूलागाडीहरु आउँदा अटो साइट लगाउनु पर्छ बाटो पनि साघुरो छ । त्यसमा झनै सडकमा परेका ठूल्ठूला खाडल परेकाले समस्या हुने गरेको छ ।’ दुर्घटनाको जोखिम धेरै भएकाले सडकलाई छिटोभन्दा छिटो मर्मत गनुपर्ने उनको भनाई थियो । च्यामा–सम्झना सडक खण्ड निर्माण उपभोक्ता समिति अध्यक्ष देब बहादुर खत्रीले भने लामो समयसम्म सडक मर्मत सम्भार नभएपछि पूर्वाधार विकास कार्यालय नेपालगञ्जमा जाँदा सडकको सूचिकृत र स्तरीकरण गराउनु पर्ने भएपनि नगराएकाले रकम विनियोजन नभएको पूर्वाधार विकास कार्यालयबाट जवाफ दिएको उनले बताए ।

सडकको वजन भार क्षमता १३ टनसम्मका दुई पाङ्ग्रेदेखि सामान्य चारपाङ्ग्रे गाडीहरु गुड्ने भएपनि त्यो भन्दा बढी वजन क्षमताका गाडीहरु सञ्चालन हुँदा जीर्ण बनेको बताए । ‘तत्कालिन समयमा त्यहि सडक गुणस्तरयूक्त थियो’ उनले भने, ‘अहिलेको समयमा स्थानीय, प्रदेश वा केन्द्र सरकारले स्तरवृद्धि नगर्दा जीर्ण बन्दै जानु स्वाभाविक हो ।’ सामान्य ग्रामिण सडक निर्माण गरिएको अवस्थामा अहिले जताततै सहर उन्मुख हुँदा सडक सानो लाग्नु, धेरै टन क्षमता भएका सवारी सञ्चालन हुँदा समस्या देखिएको उनको भनाई छ । यस विषयमा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालसँग बुझ्दा उक्त सडक तत्कालिन जिल्ला विकास समिति अन्तर्गतको ग्रामिण पूर्वाधार विकास आयोजना आरआईडिपीमार्फत बनेको बताए ।

उनले स्थानिय जनप्रतिनिधिहरु आउनु भन्दा पहिले नै निर्माण भएकोले यसको बारेको कुनै पनि रेकर्ड आफूहरुसँग नरहेको बताए । प्रदेश सरकार मातहत रहेकोले मर्मत सम्भार लगायतका सबै कामहरु सडक डिभिजन कार्यालयबाट नै हुने उनले जानकारी दिए । गाउँपालिकाले असार महिनामा सडकमा परेका खाल्डाहरु पुरेपनि ठूलो सवारीहरु चल्ने भएकाले छिट्टै भत्किने गरेको अध्यक्ष रुचालको भनाई छ । साथै उनले प्रदेश सरकारले यस चालु आर्थिक वर्षमा मर्मतको लागि ४० लाख विनियोजन गरेको जानकारी समेत दिए । यस्तै वडा नं.६ का अध्यक्ष भद्र बहादुर बस्नेतले च्यामा–सैनिक खण्डको आफ्नो वडामा पर्ने सडक जीर्ण बन्दै गएकोले स्थानीयहरुले मर्मतको लागि आफूसँग गुनासो गर्ने गरेको बताए ।

अहिले गाउँकार्यपालिकाको बैठकले वडा नं.२ र ६ मा पर्ने सडकमा परेका खाल्डाखुल्डी पुर्नका लागि १÷१ लाख उपलब्ध गराएको उनले जानकारी दिए । सोही बजेट मार्फत अहिले बैजनाथ क्षेत्रमा पर्ने सडकखण्डमा परेका खाल्डाखुल्डी पुर्ने तथा मर्मत गर्ने काम भइरहेको उनको भनाई छ । प्रदेश सांसद इन्द्रप्रसाद खरेल ‘आइपी’ले च्यामा–सैनिक सडकखण्ड लगायत अन्य सडकहरु मर्मत सम्भारका लागि बजेट छुट्याउने निर्णय भइसकेको बताए । पूर्वाधार विकास कार्यालयबाट बजेट विनियोजन गरेर छिट्टै टेण्डर आह्वान गरिने उनले दाबी गरे । ‘प्रदेश सरकारले च्यामा–सैनिक सडकखण्डको लागि बजेट छुट्याउने निर्णय गरिसकेको छ’ उनले भने, ‘पूर्वाधार विकास कार्यालयले बजेट छुट्याएपछि टेण्डर आह्वान गरेर छिट्टै मर्मत हुन्छ ।’

उता पूर्वाधार विकास कार्यालय नेपालगञ्जका प्रमुख मनिष कुमार अर्यालले सडक जीर्ण बन्दै गएको गुनासो आएपछि आफूहरुले अनुगमन गरेको बताए । अनुगमनका क्रममा सडकको अवस्था निकै दयनिय रहेकाले पहिलेको जस्तो बनाउन थोरै रकमले सम्भव नहुने उनले बताए । उक्त सडक मर्मत सम्भारका लागि अहिले करिब ४० लाख छुट्याइएकोले त्यो रकम अपुग हुने अर्यालको भनाई छ । सडकमा कालोपत्रे पुरै उप्किएकोले उक्त रकमले ग्राभेल गर्न मात्रै सकिने अवस्था रहेको उनले बताए । कम क्षमताका गाडीहरु सञ्चालनका लागि तत्कालिन समयमा जिल्ला विकास समिति अन्तर्गतको प्रविधिक कार्यालयले निर्माण गरेको सडक अहिले क्षमताभन्दा धेरै टनका गाडीहरु चल्ने गरेकोले सडक जीर्ण बनेको उनले बताए ।

सडकको बारेमा गाउँपालिकालाई केहि दिनमा चिठ्ठी लेखेर जानकारी गराउने उनले बताए । ‘आफ्नो गाउँपालिका भित्रको सडक मर्मतको बारेमा अनुमति लिइरहनु पर्दैन, गाउँपालिका आफैले मर्मत गर्न सक्छ ।’ उनले भने ‘हामीसँग भएको बजेट पनि गाउँपालिकासँग समन्वय गरेर खर्च गर्छौ ।’ बैजनाथतर्फको सडक क्षेत्र बढी जीर्ण बन्दै गएपछि अहिले गाउँपालिकाले कार्यपालिकाको बैठकबाट केहि बजेट छुट्याएर मर्मत कार्य गरिरहेको छ । वडा नं.२ को डिगिया देखि ६ को एच गाउँसम्म सडकका क्षेत्रमा परेका खाल्डाहरु पुर्ने काम भइरहेको छ ।

प्रकाशित मिति : २०७७ भदौ १५ गते सोमबार