दाङमा एक साता पूर्ण लकडाउन, पीसीआर परीक्षणको दायरा बढाउने निर्णय



शिवु खनाल । दाङ ।

दाङमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै भोलिदेखि एक हप्तासम्म पूर्णरुपमा लकडाउन गरिने भएको छ । घोराही, तुलसीपुर उप–महानगरपालिका र राप्ती गाउँपालिकामा समुदाय स्तरमा कोरोना भाइरसका संक्रमित फेला परेपछि उच्च सतर्कता अपनाउँदै जिल्लालाई नै लकडाउन गरिने लागिएको हो ।

शुक्रवार बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको बैठकले आइतबार १४ गते राती १२ बजेदेखि २१ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउन अवधिमा अत्याश्यक बाहेकका सेवाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले बताए ।

उनका अनुसार खाद्यान्न बजारहरु पूर्ण रुपमा बन्द हुने भएका छन् । एम्बुलेन्स, दमकल, प्रेसका सवारी साधन बाहेक अन्य सवारी साधन चल्न पाउने छैनन् । यस्तै बैठकले जिल्लामा आरटी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय समेत गरेको छ ।

परीक्षण रिपोर्ट हेरेर जिल्लामा लकडाउनको अवधि थप गर्ने नगर्ने निर्णय हुने अध्यक्ष प्रियासनले जानकारी दिए । समुदाय स्तरमा कोरोना संक्रमण फेला परेपछि घोराहीको नारायणपुर क्षेत्र, राप्ती गाउँपालिकाको वडा नम्बर १, ४ र ८ का ५ वटा टोल सील समेत गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १३ गते शनिबार