नेपालगञ्ज ।
आफ्नै सहोदर सालोलाई अपहरण गरेर १० लाख फिरौती माग्ने भिनाजु बाँकेमा पक्राउ परेका छन् । खजुरा गाउँपालिका ५ रजनवा गाउँका १३ वर्षीय बालक इसहाक जाकिर भन्ने इन्तजार खाँलाई उनका भिनाजु नेपालगञ्ज उप–महानगरपालिका–१६ जयसपुरका २७ वर्षका कल्लु भन्ने कलिम खाँले ९ भदौमा अपहरण गरेका थिए ।
रजनवा गाउँमा मोहर्रमको रमाइलो हेर्न गएको बेला बालकलाई अपहरण गरी जयसपुरस्थित आफ्नै घरमा बन्धक बनाएर फिरौती मागेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बालकलाई भने अपहरणको ३ दिनपछि बालकको सकुशल उद्दार गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । बालकलाई बन्धक बनाएर हिन्दी भाषा प्रयोग गरी पीडितकोे परिवारसँग १० लाख रुपैयाँ फिरौती मागेको खबर पाएपछि खजुरा गाउँपालिकाको धनौलीबाट अभियुक्तलाई पक्राउ गरिएको थियो । उनका अनुसार ११ भदौमा जानकी गाउँपालिका–५ बुढिया गाउँमा पीडित बालकको फुपुको घरमा लगेर छोडेको अवस्थामा बालक फेला परेका थिए ।
प्रहरीले अभियुक्त खाँबाट अपहरण गर्न प्रयोग भएको भे ४ प २३४४ नम्बरको सुजुकी कम्पनीको मोटरसाइकल एउटा र फिरौती माग्न प्रयोग भएको मोबाइल एक थान बरामद गरेको जनाएको छ । पीडित बालकको परिवारले १० भदौमा जग्गा किन्नका लागि ४ लाख ८५ हजार रुपैयाँ जम्मा गरेको थाहा पाएपछि पैंसाकै लागि अपहरण गरेको बाँके प्रहरीले जनाएको छ ।
प्रहरीले खोजतलास जारी राखेको थाहा पाएपछि बालकलाई फुपुको घरमा लगेर छोडेको प्रहरी उपरीक्षक रानाले दाबी गरे । यसबारे थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्