बाँकेमा थपिए ३६ संक्रमित, ६८२ जनाले कोरोना जिते, ६ जनाको मृत्यु



नेपालगञ्ज ।

बाँकेमा बिहीवार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको ल्यावमा गरिएको परीक्षणमा ३३ र बागेश्वरीको ल्यावमा गरिएको परीक्षणमा ३ जनामा गरी ३६ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले संक्रमित मध्ये भेरी अस्पतालका दुई जना विशेषज्ञ स्तरका महिला डाक्टर समेत रहेको बताए । बिहीवार थप ६ जना नेपाली सेना र एक शसस्त्र प्रहरीलाई पनि कोरोना देखिएको थियो ।

थपिएका संक्रमित ३६ जनामध्ये १४ जना महिला र २२ जना पुरुषहरु रहेको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य संक्रमितहरु नेपालगञ्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, जानकी, राप्तीसोनारी र खजुरा गाउँपालिकाका रहेका छन् । बिहीवार नेपालगञ्जमा १४, कोहलपुरमा ७, जानकी ६, खजुरा र राप्तीसोनारीमा एक/एक जना थपिएका थिए । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ५६ जना पुगेको छ ।

ती मध्ये ६ सय ८२ जना कोरोना जितेर घर फर्किसकेको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । जिल्लामा कोरोना संक्रमणका कारण तीन महिला र तीन पुरुष गरेर ६ जनाको मृत्यु भइसकेको छ । बिहीवार बिहान मात्र नेपालगञ्ज– ७ की एक ७० वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । फोक्सोको निमोनियाबाट ग्रसित उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उनको नेपाली सेनाले सुरक्षा सावधानी अपनाउँदै अन्तिम संस्कार समेत गरिसकेको छ । बाँकेका अहिले कोरोना सक्रिय संख्या २ सय ६८ जना रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लाका सबै पालिकाहरुमा कोरोनाका सक्रिय केसहरु रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १२ गते शुक्रबार