निजीमा छोराछोरी पढाउने शिक्षकलाई कारवाही



सुर्खेत ।

गुराँस गाउँपालिका दैलेखले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले निजी विद्यालयमा आफ्ना छोराछोरी पढाएको भन्दै सरकारी शिक्षकलाई कारवाही सुरु गरेको छ । गाउँपालिकाका तीन सरकारी शिक्षकलाई गाउँपालिकाले कारवाही गरेको हो । गुराँस गाउँपालिका–५ को कृष्ण माध्यमिक विद्यालय सानाकाँडाका तीन शिक्षकलाई जनही १० हजार रुपैयाँका दरले जरिवानासहित कारवाही गरिएको थियो ।

गाउँ कार्यपालिकाको २०७५ चैत्र २५ गते गरिएको निर्णय अनुसार गाउँपालिकाका सबै सामुदायिक सरकारी विद्यालयका शिक्षकहरुले निजी विद्यालयमा छोराछोरी पढाउन नपाउने गरी निर्णय गरेको थियो । आफूले सरकारी विद्यालयमा अध्यापन गराएर सरकारी तलवभत्ता खाने अनि गुणस्तरिय, भरपर्दो शिक्षा, अंग्रेजी शिक्षा चाहियो भन्दै आफ्ना छोराछोरीलाई निजी (बोडिङ) स्कुलमा पढाउने सरकारी शिक्षकहरु कारवाहीको सुरु गरिएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारीले जानकारी दिए ।

‘सरकारी विद्यालयप्रतिको आर्कषण बढाउन, सरकारी शिक्षकहरुले दायित्व, जिम्मेवारी र कर्तव्य बोध गराउन खोजिएको हो’ उनले भने, ‘आफूले पढाउने विद्यालयप्रति थप जिम्मेवार बनाउन कार्यपालिकाबाटै निर्णय गरेर कार्यान्वयन सुरु गरिएको छ ।’ सोही निर्णय अनुसार तीन शिक्षकहरुलाई कारवाही स्वरुप जरिवाना रकम दाखिलाको लागि पत्र पठाइएको स्रोत शिक्षक थिरेन्द्र कुमार विसीले जानकारी दिए । उनका अनुसार शिक्षक पदम बहादुर नेपाली, शिक्षिका रोशनी मल्ल र कमला कुमारी चन्दलाई गाउँपालिकाको आन्तरिक राजश्व खातामा जरिवाना रकम दाखिला गर्न पत्र पठाइएको छ ।

गत असार ३१ गते गाउँपालिकाको शिक्षा शाखाले उक्त विद्यालयलाई जरिवाना रकम दाखिला गर्न पत्र काटेपछि विद्यालयका प्रधानाध्यापक सुरेन्द्र कुमार चन्दले यही भदौं ८ गते शिक्षकहरुको नाममा पत्र काटिएको बताए । यस विषयमा कारवाहीमा परिएका भनिएका तीन जना शिक्षकसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ११ गते बिहीबार