एक सय बढीले गरे रक्तदान



नेपालगञ्ज ।

कर्मचारी मिलन केन्द्र बा“केले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय भन्दा बढिले रक्तदान गरेका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय प्रांगणमा गरिएको रक्तदान कार्यक्रममा जम्मा १ सय ८ जनाले रक्तदान गरेका हुन् ।

उक्त अवसरमा निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सर्वसाधारण गरी कुल १ सय ८ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले रक्तसंचार केन्द्रमा अभाव भएको अबस्थामा कर्मचारी मिलन केन्द्र, बाँकेले सेवामुखी काम गरेको बताए । उनका अनुसार जिल्लाभरीका नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।

आयोजक कर्मचारी मिलन केन्द्रका अध्यक्ष रामचन्द्र शर्माले केन्द्रको वार्षिक कार्यक्रम अन्तर्गत नै रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । विगतका दिनहरुमा केन्द्रले जनहित तथा कर्मचारी कल्याणका काम गर्दै आएको भन्दै आगामी दिनमा समेत यस्तै खालका गतिविधि सञ्चालन गरिने उनले बताए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निजामती कर्मचारीले सधै जनहितमा आधारित काम गर्नुपर्ने बताएका थिए ।

नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र नेपालगञ्जको समन्वयमा रक्तदान कार्यक्रम सञ्चालन गरेर संकलित रगत गरिब तथा आय स्रोत कमजोर भएका नागरिकको सहयोगमा प्रयोग गरिनेछ । आपतकालिन समस्या परेका नागरिकको लागि समेत प्रयोग गर्न सकिने कर्मचारी मिलन केन्द्र बाँकेकाका उपाध्यक्ष गोबिन्दप्रसाद पाण्डेले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ११ गते बिहीबार