कर्णालीमा थप १५ मा कोरोना पुष्टि



सुर्खेत ।

कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला, दैलेख अस्पताल र चौरजहारी नगरपालिकाका पीसीआर प्रयोगशाला गरिएको परीक्षणमा थप १५ जनामा कोरोना पुष्टि भएको हो ।

सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका दुई जना, नवलपरासी पुर्वका एक जना र बाँकेका एकजना गरी चार जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यस्तै जुम्लामा गरिएको परीक्षणमा जुम्लाका दुई जना र बर्दियाका एक जना, दैलेखमा गरिएको परीक्षणमा दैलेखका दुई जना, रुकुम पश्चिममा गरिएको परीक्षणमा रुकुम पश्चिमका ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालय जनाएको छ ।

पछिल्लो २४ घण्टामा चार सय ३९ जनाको कोरोना परीक्षण गरिएको थियो । कर्णालीमा कोरोना सङ्क्रमितको संख्या दुई हजार दुई सय ४० पुगेको छ । शनिवार कर्णाली प्रदेशमा कोरोना निको भई २४ जना डिस्चार्ज भएका थिए ।

यो सँगै हालसम्म निको भई डिस्चार्ज हुनेको संख्या एक हजार ९ सय ६९ जना पुगेको छ । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या दुई सय ६५ रहेको छ । कर्णाली प्रदेशमा हालसम्म ५१ हजार ३ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ७ गते आइतबार