नेपालगञ्ज ।
बाँकेमा शुक्रवार हरितालिका तीजका दिन ५१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । १४ दिनको आइसोलेसन अवधी पूरा गरी थप ७ दिन होम आइसोलेसनमा बस्नेगरी उनीहरु डिस्चार्ज भएका हुन् । तीजलाई पर्वलाई मध्यनजर गरेर शुक्रवार घर पठाइएकाहरुलाई बिहीवार नै घर पठाउने तयारी गरिएको थियो ।
उक्त निर्णयको विरोध भएपछि शुक्रवार बिहानै उनीहरुलाई आइसोलेसन अस्पताल तथा सेन्टरबाट डिस्चार्ज गरेर घर पठाइएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग स्रोत व्यक्ति नरेश श्रेष्ठले विभिन्न आइसोलेसनबाट ५१ जना संक्रमितहरु कोरोना जितेर घर फर्किएको जानकारी दिए । शुक्रवार कोरोनालाई जितेर फर्किनेमा नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवम् व्यापारी नेता कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहाल लगायतका व्यक्तिहरु रहेका छन् ।
‘मापदण्ड अनुसार १४ दिन आइसोलेसन अवधि पुरा गरेका ५१ जनालाई थप ७ दिन होम आइसोलेसनमा बस्ने गरि डिस्चार्ज गरिएको छ,’ बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले भने । कौशिल्यानगर आर्मी आइसोलेसन, नेपालगञ्ज मेडिकल कलेज चिसापानी आइसोलेसन, होटेल सिटी प्यालेस, खुल्ला कारागार, सुशील कोइराला क्यान्सर अस्पताल आइसोलेसन, आदर्शनगर आइसोलेसन र लायन्स डेण्टल अस्पताल आइसोलेसनबाट कोरोना जितेर संक्रमितहरु डिस्चार्ज भएका हुन् । बाँकेमा यती धेरै संख्यामा एकै दिन कोरोना जितेर संक्रमितहरु डिस्चार्ज भएको पहिलोपटक हो ।
प्रतिक्रिया दिनुहोस्