सुदिप अधिकारी । बर्दिया ।
अघिल्ला वर्षमा तीज पर्व आउनु भन्दा करिव पन्ध्र–बीस दिन अघिदेखि नै गाउँ, शहर, चोक चौतारोमा तीजको रौनक देखिन्थ्यो । चोक चौतारोमा तीजका भाकामा गीत मज्जाले घन्कन्थे । जताततै तीजको माहौल देखिन्थ्यो । माइत जान र दरखान, खुवाउन सबैलाई भ्याईनभ्याई हुन्थ्यो । तीजको दिन गाउँ शहरका चोकचोकमा महिलाहरु झुण्डझुण्डमा नाचगानमा मस्त देखिन्थे ।
नाच हेर्ने दर्शकको भिड पनि उस्तै हुन्थ्यो । मठमन्दिरमा पूजाआजा गर्नेको भिड हुन्थ्यो । तर, यसपालीको तीजमा गाउँ, शहर बजारका चोक चौतारा सुनसान देखिए । चोक चौतारा कतै पनि तीजका भाका घन्किएनन् । सारीमा धपक्कै सजिएर माइत जान र दर खान हिड्ने महिलाहरु यसपाली कतै देखिएनन् । सबै घरमै सिमित रहे । परिवारमै सिमित रहेर दर खाए । घरमै रमाइलो गरे । नाचगान गर्नेको झुण्ड पनि कतै देखिएन । मठमन्दिरमा सामूहिक रुपमा पुजापाठ गर्ने आउने महिलाको कतै देखिएनन् ।
सामुहिकरुपमा पूजाआजा गर्ने महिलाहरु यसपाली एक्लाएक्लै घरमै पुजा गरे । घर चोक चौतारोमा जुटेर रमाइलो गर्ने महिलाहरु यस वर्षको तीजमा घरको कोठामै सिमित रहेर रमाए । घर परिवारमा रमाइलो गरेका तस्बिरहरु सामाजिक सञ्जालमा राखेर तीजको न्यास्रो मेटाए । माइत जान वर्षदिन तीज पर्खेर बसेका महिलाहरु माइत जान पाएनन् । माइती गएर रमाइलो गर्ने, दुखसुख साटने धोकोमा बसेका महिलाहरु यसपालीको तीजमा निराश भए पनि स्वास्थ्यको ख्याल गर्दै घर बसेर चित्त बुझाएको महिलाहरु बताउँछन् । मुलुकमा फैलिएको कोरोना त्रासले हिन्दु महिलाहरुको महत्वपूर्ण तीज पर्व यसवर्ष पूर्णरुपले प्रभावित रह्यो ।
कोरोना महामारीका कारण स्थानिय प्रशासनले भेला हुन रोक लगाएको छ । जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जसका कारण यस वर्षको तीज घरको कोठामै सिमित रह्यो । घरमै सिमित भएर तीज मनाउँदा न्यास्रो मानेका छन् । तर कोरोना महामारीको बेला घरमै रमाइलो गरेर तीज मनाउनु नै उपयुक्त रहेको महिलाहरुको भनाई छ । स्थानिय महिला आशा बैद्य भन्छिन्, ‘समुहमा रमाइलो गरेर वर्षेनी तीज मनाउँदै आइएकै हो । स्वास्थ्य भन्दा ठूलो चाड पर्व हुँदैन ।
यसपाली समूहमा रमाइलो गर्न नपाएर के भो त । अर्को वर्ष रमाइलो गरौँला नि ।’ अहिले समुदायमै कोरोना देखिएको छ । यस्तो बेलामा चाडवाडका नाममा भिडभाड गरेर रमाइलो गर्दा झनै जोखिम बढ्ने खतरा रहेकाले कोरोना महामारीका कारण बजार पनि महिनौदेखि बन्द छन् । यसपाली महिलाले तीजका लागि किनमेल पनि खासै गरेनन् । मिठो मसिनो, सुकिलोमुकिलो घरमा जे छ त्यसैमा सिमित रहेर यसपालीको तीज मनाएको महिलाहरुको भनाई छ । ‘अघिल्ला वर्ष बढी तडकभडक पनि हुन्थ्यो । यसपाली महिनौदेखिको लकडाउनले घर खर्च पनि सिमित भयो । घरमा जे छ त्यसै अनुसार घरमै रमाइलो गरेर तीज मनाइयो,’ स्थानिय साबित्रा शर्माले भनिन् ।
घर परिवार भित्रै रहेर पर्व मनाउँदा खर्चमा पनि बचत भएको महिलाहरुको भनाई छ । सत्ययुगमा भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकाले भाद्र शुक्ल तृतीयाका दिन व्रत बस्दा मनोकामना पुरा हुने विश्वासका साथ हिन्दु नारीहरु व्रत बस्ने गरेको हिन्दु ग्रन्थमा उल्लेख भएको बताइन्छ । यस दिन विवाहिता नारीहरुले आफ्ना पतिको सु–स्वास्थ्यको कामनामा र अविवाहित नारीहरुले असल पतिको कामनामा व्रत बस्ने भन्ने लौकिक चलन छ ।
समुदाय स्तरमा कोरोना देखिएकाले चाडपर्वका नाममा समुदायमा भिडभाड नगर्न र घरमै बसेर चाडवाड मनाउन स्थानिय प्रशासनले आग्रह गर्दै आएको छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको भन्दै महिलाहरुले यो महामारीका बेलामा प्रशासनले तोकेको स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेको स्थानिय प्रशासनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्