आज हरितालिका तीज



कोहलपुर ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।

सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतम बताउँछन् ।

निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताउँदै उनले सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने बताए । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सक्ने पनि गौतमले बताए । आजका दिन विवाहिताहरूले आफ्ना पति छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताहरूले असल पतिको कामनामा व्रत बस्ने भन्ने लौकिक चलन पनि छ । सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने गर्छन् । भोलिपल्ट सबेरै लोापामुद्रालाई अर्घ्य दिएपछि तिजको व्रत पूर्ण भएको मानिन्छ ।

सामाजिक रूपमा पनि तिजको ठूलो महत्त्व छ । तीजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनीहरू एकै थलोमा जम्मा हुने, अघिल्लो दिन बेलुकी मिठामसिनो (दर) खाने गर्छन् । तीजका दिन नाचगान गरी घरव्यवहारमा पाएका दुःखकष्टलाई गीतमा उतार्ने गर्छन् । तीजमा गाइने विभिन्न ठाउँका भाका लोकसाहित्यका सम्पत्ति मानिने गरेका छन् । तीजका बेला सौभाग्यका सूचक राता वस्त्र तथा आभूषण लगाउने चलन छ । तर अचेल दर खाने नाममा एक महिनाअघिदेखि तडकभडक गर्ने, तिजको गीतमा उच्छृंखल शब्दको प्रयोग गर्ने र भड्किला पोशाक लगाउने चलन बढेको भन्दै संस्कृतिविद्हरू चिन्ता व्यक्त गर्छन् ।

विगतका वर्षहरुमा आजका दिन महिलाहरू आफ्नो पायक पर्ने शिवालयमा पुगी शिवपार्वतीको पूजा गर्ने भएपछि यसपटक भने पाउँने छैनन् । कोरोना कहरका कारण विभिन्न शक्तिपिठहरु बन्द रहेका छन् भने सरकारले समेत पर्वहरु घरभित्रै राख्न आग्रह गरेको छ । विगतका वर्षहरुमा आजका दिन घुइचो लाग्ने बागेश्वरी, पशुपतिनाथ मन्दिर लगायतका शक्तिपिठहरु सुनसान हुनेछन् । बाँकेमा समेत स्थानीय प्रशासनले तीज लगायतका पर्वहरु घरभित्रै नै सिमित राख्न सबैलाई आग्रह गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ५ गते शुक्रबार