सुर्खेत ।
कर्णाली प्रदेश सरकारले कर्णाली भित्रिने नाकामा थप कडाई गर्ने भएको छ । काठमाडौं तथा पुर्वी नेपालमा कोरोना संक्रमणको अवस्था भयावह भएको उल्लेख गदैँ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नाकामा थप कडाई गर्ने बताएका हुन् । बिहीवार उनले कर्णाली भित्रिने नाकामा भारतबाट आउने बाहेक अन्य सबै नागरिकको पीसीआर रिपोर्ट मागिएको जानकारी दिए ।
मुख्यमन्त्री शाहीले कर्णालीमा भारतबाट आउने नागरिकको हकमा पीसीआर परीक्षण गर्ने, क्वारेन्टिनमा राख्ने र आवश्यकता अनुसार अन्य लगानी समेत प्रदेश सरकारले गर्नेछ । राजनीतिज्ञ, व्यापारी र कर्मचारीले भने आफैंले पीसीआर परीक्षण गरेर मात्र कर्णालीमा प्रवेश गर्न पाइने उनले दाबी गरे । उनले भारतबाट आउने नागरिक भन्दा नेपालका पुर्वी अन्य जिल्लाबाट आउने नागरिकले कोरोना फैलाउन सक्ने खतरा धेरै भएको बताएका थिए । ‘भारतबाट आएका नागरिकलाई हामी क्वारेन्टिनमा राख्छौं, नेपालकै विभिन्न जिल्लाबाट आएका नागरिकबाट कोरोना संक्रमण हुने खतरा छ’ मुख्यमन्त्री शाहीले भने, ‘त्यसलाई नियन्त्रण गर्न हामीले सिमा नाकामा कडाई गरेका हौैं ।’ उनले कर्णालीमा कोरोना संक्रमण फैलिन नदिन सबै नागरिक इमान्दार बन्नु पर्नेमा जोड दिए । कर्णाली प्रदेश प्राप्तिको लागि भएको आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सपना पुरा गर्न प्रतिबद्ध भएको उनले बताएका थिए । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शहिदहरुको तस्बीरमा माल्यार्पण गर्दै मुख्यमन्त्री शाहीले शहिदहरुको सपना पुरा गर्न आफू लागिरहेको
बताए ।
थपियो वीरेन्द्रनगरमा निषेधाज्ञा
कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेपछि वीरेन्द्रनगरमा जारी निषेधाज्ञाको समय थप गरिएको छ । निषेधाज्ञाको समयलाई यहि भाद्र ९ गते राति १२ बजेसम्मलाई कायम गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हरिलाल रेग्मीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सेवा पूर्ण रुपमा बन्द हुनेछन् । उनले सो अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, दुध, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, तरकारी पसल जस्ता सेवा बाहेक अन्य सम्पूर्ण बन्द रहने बताए । यसैगरी जिल्ला प्रशासन कार्यालयले दैलेखले भाद्र ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) र तीजमा हुने भीडभाडलाई मध्यनजर गर्दै निषेधाज्ञा गरिएको हो । प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार दैलेख भित्रिने नाकाहरु सबै बन्द गरिएको छ । उनका अनुसार दैलेख जिल्लाको पुर्वमा जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालिकोट र अछाम जिल्लाको सिमाना उत्तरमा कालिकोट जिल्लाको सिमाना र दक्षिणमा सुर्खेत जिल्लाको सीमानाबाट प्रवेशमा रोक लगाइएको छ ।









प्रतिक्रिया दिनुहोस्