कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा जारी लकडाउनको अवधी थप गरिएको छ । निरन्तर समुदायस्तरमै कोरोना संक्रमण पुष्टि हुन थालेपछि कोहलपुरमा लकडाउनलाई पाँच दिन थप गरिएको हो । बिहीवार नगरप्रमुख लुट बहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जारी बन्दाबन्दीलाई भदौं १० गतेसम्म जारी राख्ने निर्णय गरेको थियो ।
पहिलेको निर्णय अनुसार लकडाउन आज राती १२ बजेपछि सकिदैं थियो । बिहीवार सकेको बैठकले थप पाँच दिन लकडाउन थप्दै १० गतेसम्म पु¥याएको हो । बैठकले लकडाउनलाई अझै कडा पार्ने निर्णय समेत गरेको छ । बैठकले कोहलपुर नगरक्षेत्रमा अत्यावश्यक बाहेक अन्य सबै सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय कडाईका साथ लागू गर्ने निर्णय गरेको नगर प्रमुख रावतले जानकारी दिए । सो अवधिमा एम्बुलेन्स र शव वहानका साथै अन्य अत्यावाश्यक सेवा चल्नेछन् ।
नगरपालिका मातहतका वडा कार्यालय, शाखा कार्यालय, सरकारी तथा गैरसरकारी सेवा भने पूर्णरुपमा बन्द हुनेछन् । बैंक तथा वित्तीय संस्था, होटेल रेष्टुरेन्ट, उद्योग व्यवसाय तथा बजार, शिक्षण संस्था सबै बन्द गर्ने निर्णय भएको उनले बताए । ‘आज सर्वपक्षीय बैठक बस्यो । बैठकले बन्द बढाउने निर्णय गरेको छ । अब बन्द झन् कडा पारिनेछ ।
सबैलाई सुरक्षित रहन आग्रह गर्दछु’ नगरप्रमुख रावतले भने । कोहलपुरमा कोरोना संक्रमण बढ्न थालेपछि गत साउन ३१ गते बसेको सर्बपक्षीय बैठकले आज भदौं ५ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । बिहीवार बसेको बैठकले भने भोली शनिवारदेखि १० गते राति १२ बजेसम्म सम्पूर्ण सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । कोहलपुरमा पछिल्लो समय दैनिक समुदायस्तरमा कोरोना संक्रमित थपिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्