बाँकेका थप २८ जनाले जिते कोरोना, आज थप ५१ जना कोरोना जितेर घर फर्किदैं



नेपालगञ्ज ।

बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट बिहीवार २८ जना कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग स्रोत व्यक्ति नरेश श्रेष्ठले प्रदेश सांसद कृष्णा केसी (नमूना)सहित २८ जना कोरोना जितेर घर फर्किएको बताए । भेरी अस्पतालको आइसोलेसनबाट प्रदेश सांसद नमूनासहित तीन जना डिस्चार्ज भएको उनले जानकारी दिए ।

बिहीवार डिस्चार्ज भएपछि घरतर्फ जाँदै प्रदेश सांसद कृष्णा केसी (नमूना) लगायतहरु ।

बिहीवार मात्रै बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट २८ जना डिस्चार्ज भएका हुन् । बिहीवार मात्रै १३ जना महिलासहित २८ जना विभिन्न आइसोलेसन अस्पताल र आइसोलेसन सेन्टरमा बसिरहेका कोरोना संक्रमितहरु डिस्चार्ज भएको कोरोना रोग स्रोत व्यक्ति श्रेष्ठले बताए । कोरोना जितेर घर फर्किनेहरुमा अधिकांश नेपालगञ्ज उप–महानगरपालिका रहेका छन् ।

अहिलेसम्म बाँकेमा सबैभन्दा बढी ३० जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । अहिलेसम्म बाँकेमा ७ सय ८७ जना कोरोना संक्रमितमध्ये ४ सय ९६ जना कोरोना जितेर घर फर्किएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए । कोरोना जितेर डिस्चार्ज हुनेहरुमा ६५ जना महिला र ४ सय ३१ जना पुरुषहरु रहेका छन् । अहिलेसम्म बाँकेका दुई पुरुष र दुई महिला गरेर कुल चार जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

आज थप ५१ जना डिस्चार्ज बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट आज थप ५१ जना कोरोना जितेर घर फर्किदैछन् । स्वास्थ्य कार्यालय बाँकेले बिहीवार नै उनीहरुलाई तीज पर्वलाई मध्यनजर गर्दै थप ८ दिन होम क्वारेन्टिनमा बस्नेगरी डिस्चार्ज गर्ने तयारी गरेको थियो । विभिन्न कारण देखाउँदै कार्यालयले बिहीवार राती मात्र डिस्चार्ज गर्न नसक्ने जानकारी दिएको थियो । १४ दिन शुक्रवार आज पुग्ने भएपनि तीजलाई लक्षित गरेर बिहीवार नै डिस्चार्ज गर्ने तयारी थालिएको खबर फैलिएपछि सबैले झोला प्याक गरेका थिए ।

‘कोरोना संक्रमित भएर होटलमा बसेका व्यक्तिलाई झुक्याउने काम भयो । झोला प्याक गरिसकेकाहरु फेरी चेन खोल्न बाध्य भए’ एक जनाले मिसन टुडेसँग बिहीवार राती भने, ‘हामीले घर जान्छौं भनेको पनि होइन । जिम्मेवार व्यक्तिले भनेपछि समाचार आएको थियो । त्यही समाचार हेरेर झोला प्याक गरेका थियौं । अहिले झुक्याउने काम भयो ।’ स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठ आज विहानै ५१ जनालाई डिस्चार्ज गरिने जानकारी दिए ।

‘उहाँहरुलाई बिहीवार नै डिस्चार्ज गर्ने तयारी थियो । १४ दिनको मापदण्ड राती १२ बजेमात्र पुग्ने भएकाले शुक्रवार डिस्चार्ज गर्न लागिएको हो’ उनले भने । १४ दिन नै पु¥याएर आज बिहान मात्रै घर पठाउने रणनीति बनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । ‘१४ दिनको मापदण्डका कारण उहाँहरुलाई बिहीवार रिहा गर्न सकिएन’ उनले भने, ‘तीज पर्व भएकाले शुक्रवार विहानै उहाँहरुलाई डिस्चार्ज गरेर घर पठाउँछौं ।’ आज डिस्चार्ज हुने बाँकेमा एकैदिन डिस्चार्ज हुनेको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ५ गते शुक्रबार