कर्णालीमा कोरोना संक्रमित २ हजार नाघे



सुर्खेत ।

कर्णाली प्रदेशमा मंगलबार थप ६ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा दैलेख अस्पताल दैलेख र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट थप ६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको
छ ।

महाशाखाका अनुसार दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ८ की ५३ वर्षीया एक महिला, वडा नम्बर ६ का २५ वर्षीय एक पुरुष, वडा नम्बर ९ का २० र ५० वर्षीय पुरुष र महाबु गाउँपालिका २ की ६० वर्षीया एक महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै  रुकुम पश्चिममा त्रिबेणी गाउँपालिका वडा नम्बर १० का २२ वर्षीय एक युवकमा समेत कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यससँगै कर्णालीमा संक्रमितको संख्या दुई हजार ८७ जना पुगेको छ ।

कर्णालीमा पछिल्लो २४ घण्टामा ६ सय ५५ जनाको स्वाब परिक्षण गरिएको थियो । जसमध्ये थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णालीमा हालसम्म ४८ हजार ६ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ । यस्तै हालसम्म कर्णालीमा कोरोना भाइरस संक्रमणबाट एक हजार नौँ सय ३२ जना निको भइ घर फर्केका
छन् । हाल सम्म कोरोना संक्रमण पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भइसकेको छ ।

साथै मंगलबार कर्णालीमा थप चार जना कोरोना भाइरसबाट डिस्चार्ज भएका छन् । एकसय ४९ जना सक्रिय संक्रमित कर्णालीका विभिन्न आइसोलेसनमा स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ३ गते बुधबार