कोहलपुर ।
बाँकेका मंगलबार थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशाला गरिएको परीक्षणमा १४ र कोहलपुरको बागेश्वरी डाइगोस्टिक प्रयोगशालामा गरिएको परीक्षणमा १ गरी थप १५ जनामा कोरोना पुष्टि भएको हो ।
थप भएकोमा १३ जना नेपालगञ्ज उप–महानगरपालिकाका रहेका छन् । अन्य दुई जना भने एक कोहलपुर नगरपालिका र एक खजुरा गाउँपालिकाका संक्रमित हुन् । कोहलपुर नगरपालिका– ४ की २६ वर्षीया महिलालाई कोरोना पुष्टि भएको छ भने खजुरा गाउँपालिका ३ का २२ वर्षीय पुरुषमा समेत संक्रमण देखिएको हो । मंगलबार थपिएका संक्रमितमध्ये ७ जना महिला र ८ जना पुरुषहरु रहेको भेरी अस्पतालले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज १, ४, ५, ६, १०, ११, १२ र १३ नम्बर वडामा संक्रमित थपिएका छन् । उनका अनुसार थपिएका संक्रमितहरु अधिकांश पोजिटिभको सम्पर्कमा आएकाहरु हुन् । बाँकेमा मंगलबार साँझसम्म कोरोना संक्रमितको संख्या ७ सय ४९ जना पुगिसकेका छन् । तीमध्ये ४ सय ६८ जना कोरोना जितेर घर फर्किसकेको कोरोना रोग स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कोरोना जितेर आइसोलेसन सेन्टरबाट डिस्चार्ज हुनेहरुमा ५३ महिला र ४ सय १५ जना पुरुष रहेका छन् । अहिले जिल्ला विभिन्न आइसोलेसन सेन्टरहरुमा ९९ महिला र १ सय ७८ पुरुष गरी कुल २ सय ७७ जना कोरोना संक्रमितहरु रहेका छन् । जिल्लामा दुई पुरुष र दुई महिला गरेर चार जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्