लेखा अधिकृतसहित चार कर्मचारी निलम्बित



नेपालगञ्ज ।

१६ लाख रकमसहित कम्प्युटर अपरेटर पक्राउ परेपछि भेरी अस्पताल नेपालगञ्जका लेखा अधिकृतसहित चार जना कर्मचारी निलम्बनमा परेका छन् । १६ लाख कमिसनको रकमसहित भेरीका कम्प्युटर अपरेटर अरुणराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्ज टोलीले पक्राउ गरेको थियो । निलम्बन हुनेहरुमा पक्राउ परेका कम्प्युटर अपरेटर खनालसहित अस्पतालका लेखा अधिकृत माधव आचार्य, लेखापाल इन्द्र ओली र सह–लेखापाल प्रेम खत्री रहेका छन् ।

कार्यकक्षबाटै कमिसन बाफतको १६ लाख रकमसहित पक्राउ गरेका खनालकोे बयानका आधारमा लेखा अधिकृतसहित थप तीन जनालाई निलम्बन गर्न अख्तियारले सिफारिस गरेको थियो । अख्तियारले अन्य तीन जनामाथि समेत अनुसन्धान भइरहेकोले निलम्बन गर्न सिफारिस गरेपछि निलम्बन गरिएको अस्पताल प्रशासनले जनाएको छ । रकमसहित खनाल पक्राउ पश्चात भेरी अस्पतालबाट अस्पताल प्रमुख सहित लेखासँग सम्बन्धित अन्य कर्मचारीलाई बयानका लागि अख्तियारले काठमाण्डौं बोलाएको थियो । उनीहरु सबैले अख्तियारको केन्द्रिय कार्यालय काठमाडौं पुगेर बयान दिइसकेका छन् ।

अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले अस्पतालमा गत साउन ८ गते छापा मारेर सो क्रममा अस्पतालका कम्प्युटर अपरेटर खनाललाई १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँसहित पक्राउ गरेको थियो । अस्पतालका कर्मचारीहरु बयान दिएर आइसकेपछि थप अनुसन्धान र मुद्दालाई अगाडि बढाउन निलम्बन गर्नुपरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने पीसीआर मेसिन लगायत विभिन्न मेडिकल उपकरण खरिद्मा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

उपकरण खरिदका विषयमा परेको उजुरीमा छानविन भइरहेका बेला अख्तियारले पुनः अस्पतालमा छापा मारेर कमिसनको रकमसहित फेला पारेको हो । अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी लोकमणी पाण्डेले बायो मेडिकल ईकुपमेन्ट लगायतका मेडिकल उपकरण र औजारहरू टेण्डरबिनै खरिद् गरी आर्थिक चलखेल तथा अनियमितता गरेको भन्दै भेरी अस्पताल बिरूद्ध अख्तियारमा असार पहिलो साता उजुरी दर्ता भएको जानकारी दिए ।

सोही उजुरीमाथि छानविन भइरहेको बेला अस्पतालमा कम्प्युटर अपरेटर खनालको कार्यकक्षबाटै स्रोत नखुलेको ठूलो रकम बरामद भएको उनले बताए । यता भेरी अस्पताल नेपालगञ्जले अख्तियारको छानविनलाई सहयोग पु¥याउने बताएको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अख्तियारले गरिरहेको छानविनलाई आफुहरुबाट सहयोग हुने बताए । ‘अहिले अख्तियारले छानविन गरिरहेको विषयमा जतीबेला पनि अस्पताल सहयोग गर्न तयार छ’ उलने भने, ‘दोषि जो कोही भएपनि कानूनी दायरामा ल्याउन अख्तियारलाई आग्रह गर्दछु ।’

प्रकाशित मिति : २०७७ भदौ ३ गते बुधबार