नेकपा वडा कमिटिद्धारा ध्यानाकर्षण पत्र, ‘स्थानीयहरुको स्वास्थ्य माथि उद्योगद्धारा खेलवाड’



शिवु खनाल, दाङ

नेपाल कम्युनिष्ट (पार्टी ने.क.पा) लमही नगर ७ नम्बर वडा कमिटीले कोरोना भाइरस (कोभिड १९) स्वास्थ्य सचेतनाका लागि अध्यक्ष र सचिवको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र बुझाएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट उद्योगमा काम गर्न आएका तीन जना मजदूरमा कोरोना पुष्टि भएपछि वडा कमिटीले आइतबार जिल्ला प्रशासन कार्यालय दाङ, सम्राट सिमेन्ट उद्योग लमही, लमही नगरपालिका, इलाका प्रशासन कार्यालय लमहीलाई अध्यक्ष र सचिवको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।

सम्राट सिमेन्ट उद्योगले उद्योगभित्र स्थापना गरेको क्वारेन्टिनमा बसेका तीन जना मजदूरमा कोरोना पोजेटिभ देखिपछि ध्यानाकर्षण पत्र बुझाएको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) लमही नगर ७ नम्बर वडा कमिटिका अध्यक्ष ओमराज गिरीले जानकारी दिए । उनले भने? ‘शनिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५१ जनाको नमुना परीक्षण गरिएको थियो ।

जसमध्ये परिक्षणमा भारत घर भएका १९ वर्षिय र २४ वर्षिय र कृष्णनगर घर भएका ४२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो । उद्योगले असावधानी पूर्वक र कुनै पनि स्वास्थ्य मापदण्ड पूरा नगरी विभिन्न स्थानबाट कामदारहरु भि¥याउनुका साथै स्थानीयको स्वास्थ्यलाई बेवास्ता गरेका कारण वडा कमिटिले ध्यानाकर्षण पत्र बुझाएको हो ।’

ध्यानाकर्षण पत्रमा सम्राट सिमेन्ट उद्योगमा काम गर्न जानेहरु मजदुहरुको पहिचान गरेर स्वास्थ्य चेकजाँचको दायरामा बढाउनक माग गरिएको छ भने सम्बन्धित गाउँलाई सिल गर्न र कच्चापदार्थ लिएर दैनिक जसो भारतीय मालबाहक ट्रकहरु सम्राट सिमेन्ट उद्योगमा आउने गरेको ध्यानाकार्षण पत्रमा उल्लेख गरिएको छ । यस्तै लकडाउन भएकै बेला आफुहरु जोखिममा परेको भन्दै स्थानीयले सम्राट सिमेन्ट उद्योगमा मालबाहक ट्रकहरु आवागमन नै बन्द गरिदिएका थिए । कम्पनीले स्वास्थ्य मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाए पछि बाटो खुलेको थियो ।

बाहिरबाट कामदार नलिने, सबै स्वास्थ्यका मापदण्ड पूरा गर्ने जस्ता सहमती भएको थियो, तर नेपाल सरकारले बिकास निर्माणका लागि काम संचालन गर्ने भनेपछी स्थानीयको केही सिप नचलेपछि उद्योगमा काम शुरु गरेको हो । स्थानीयले उद्योगलाई पटकपटक काम रोक्न आग्रह गरेका थिए, तर कम्पनीले अटेरी गरि उद्योग संचालन गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । नेपाल कम्युनिष्ट (पार्टी ने.क.पा) नगर कमिटि सचिव बसन्तराज शर्मा (विक्रान्त) नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) लमही नगर ७ नम्बर वडा कमिटिका इञ्चार्ज राजु पुन मगर लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २ गते मंगलबार