दिनेश कुमार बुढा । सुर्खेत ।
कर्णाली प्रदेशमा पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम बढेको छ । अन्य प्रदेशको तुलनामा कम मात्रामा औद्योगिक क्षेत्र भएको कर्णालीमा पछिल्लो समय उद्योग दर्ता गर्नेहरुको संख्या बढेको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६/७७ मा कर्णालीका १० वटै जिल्लामा गरि कुल तीन हजार पाँच सय चार वटा नयाँ उद्योग दर्ता भएका थिए ।
नयाँ उद्योग दर्ता हुने क्रम बढेसँगै तीन अर्ब बराबरको पुँजि समेत उद्योगहरुमा लगानी भएको छ । अहिलेसम्म प्रदेशमा १७ हजार ७ सय ७७ वटा उद्योगहरु दर्ता भएका छन् । ती उद्योगहरुमा करिव ११ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उद्योगहरुमा उत्पादनमुलक, कृषि तथा वन, निर्माण सम्बन्धी, सेवामुलक, खनिज, पर्यटन तथा उर्जामुलक र सुचना सम्बन्धी रहेका छन् ।
कर्णाली प्रदेशका १० वटै जिल्लामध्ये सबैभन्दा धेरै सुर्खेतमा ९ सय ९१ वटा उद्योगहरु दर्ता भएका हुन् । मन्त्रालय मातहतको निकायहरुबाट कार्यक्रम कार्यान्वयन भई ९ लाख ३४ हजार ९० श्रम दिन बराबरको रोजगारी सिर्जना भएको थियो । चालू आर्थिक वर्षमा मन्त्रालयले वन उद्योग र पर्यटनबाट रु ६ करोड ७० लाख २९ हजार ६ सय ५३ रुपैयाँ राजश्व संकलन गरेको थियो । यो अवधीमा ७१ हजार चारसय ८६ क्युफिट काठ र एक सय ६७ दशमलव ५५ दाउरा गरि १४ लाख १८ हजार एकसय ५३ किलो र जडीबुटी तथा खोटो १९ लाख ५९ हजार ६ सय १२ किलोबाट तीन करोड ५१ लाख १८ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्