नेपालगञ्ज ।
बाँकेमा रहेका सरकारी कार्यालयहरु आज आइतवारदेखि सञ्चालनमा आउने भएका छन् । कार्यालयमै कोरोना संक्रमण देखिएपछि र निषेधाज्ञाका कारण बन्द रहेका सरकारी कार्यालय आजदेखि खुल्न लागेका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सबै सरकारी कार्यालयहरु सेवाग्राहीको सेवा फर्किने जानकारी दिए । ‘बन्द रहेका जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयहरु आइतवारदेखि सेवामा फर्किनेछन्’ उनले भने, ‘सुरक्षा मापदण्ड अपनाएर सेवाग्राहीलाई कर्मचारीहरुले सेवा दिनुहुनेछ ।’
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सिल गरिएका आन्तरिक राजश्व कार्यालय, यातायात कार्यालय, नेपालगञ्ज उप–महानगरपालिका र जिल्ला अदालत समेत सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । आन्तरिक राजश्व कार्यालयलाई त अझै आइसोलेसनको रुपमा नै परिणत गरिएको थियो । अहिले त्यहाँ राखिएका सबै कोरोना संक्रमितहरु कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत प्रकाश पौडेलले आधा कर्मचारीले एक दिन र बाँकी आधा कर्मचारीले अर्को दिन काम गर्ने गरी सेवा दिने व्यवस्था मिलाइएको बताए ।
‘कोरोनाले सेवालाई प्रभावित गर्नुभन्दा अगाडी पनि सावधानीका साथ हात धुने व्यवस्था, सेनिटाइजरको व्यवस्था, मास्क र पन्जा लगाउने, भौतिक दुरी कायम गर्ने लगायत सबै सावधानीहरु पालना गरिएको हो’ उनले भने, ‘त्यसो गर्दा पनि कोरोना संक्रमण देखिएपछि आधा कर्मचारीबाट काम सुरु गर्न गइरहेका छौं ।’ जनप्रतिनिधी र कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि बन्द गरिएको नेपालगञ्ज उप–महानगरपालिकाको कार्यालय समेत आजदेखि सञ्चालनमा आउँदैछ । नगर उप–प्रमुख उमा थापा मगरले सुरक्षा सावधानी अपनाएर सेवा सुरु गर्न लागिएको जानकारी दिइन् ।
‘उप–महानगरपालिकाको कार्यालयसहित वडा कार्यालयहरु समेत सञ्चालनमा आउँनेछन्’ उनले भनिन्, ‘कोरोनाको जोखिमलाई कम गर्नको लागि स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कडाईका साथ लागू हुन्छ ।’ कोहलपुर नगरपालिकाले भने नगरमा कोरोना समुदाय स्तरमा नै फैलिसकेकाले भदौं ५ गते राती १२ बजेसम्म सबै बन्द गर्ने निर्णय शनिवार गरेको छ । निर्णय अनुसार कोहलपुरमा भने सरकारी कार्यालयहरु भने खुल्ने छैनन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले समेत सबैलाई स्वास्थ्य मापदण्ड पालना गरिदिन आग्रह गरेका छन् । ‘कार्यालय खुलेसँगै सेवाग्राहीको भिडभाड हुने देखिन्छ’ उनले भने, ‘भिडभाडमा कोरोना संक्रमणको जोखिम उत्तिकै हुन्छ । त्यसैले सबैलाई मास्क लगाउनुका साथै सामाजिक दुरी समेत कायम गरेर सेवा लिन आग्रह गर्दछु ।’









प्रतिक्रिया दिनुहोस्