काेहलपुर ।
समुदाय स्तरमा कोरोना देखिएको कोहलपुरमा कुल ५६ संक्रमित रहेका छन् । ती मध्ये ३२ जना नगरपालिकाले गरेको पीसीआर परीक्षणमा देखिएका पोजिटिभ केसहरु हुन् । अन्य केस भने भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, बैंक, पेट्रोल पम्प तथा अन्य ठाउँमा परीक्षण गराएका व्यक्तिहरु रहेको नगर स्वास्थ्य शाखा कोहलपुरले जनाएको छ । नगर स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज पोखरेलले कुल संक्रमित मध्ये २२ ले कोरोना जितेर घर फर्किसकेका छन् ।
३४ जना संक्रमित भने जिल्लामा विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत छन् । साउन २३ पछि भेटिएका संक्रमितमा कुनै पनि किसिमको ट्राभल हिस्ट्री देखिएको छैन । ती केसहरुले पनि कोहलपुरमा समुदाय स्तरमा नै कोरोना पुगिसकेको देखाउने उनले बताए । शाखा प्रमुख पोखरेलका अनुसार शनिवारसम्म कोहलपुरमा ९ सय जनाको आरडीटी विधी र १ हजार ४ सय जनाको पीसीआर विधीबाट परीक्षण गरिएको छ । ती मध्ये ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अन्य जिल्ला तथा क्षेत्रका तर कोहलपुरमा कार्यरत र परीक्षणको क्रममा कोहलपुर नै ठेगाना टिपाएकाहरु गरी कुल ५६ जना संक्रमित रहेको उनको भनाई छ । सोही कारण कोहलपुरमा सबै भन्दा बढी वडा नम्बर ११ र ५ मा संक्रमित देखिएका छन् । अहिले नगरपालिकाले होटल अतिथिलाई आइसोलेसन सेन्टर बनाएको
छ । त्यहाँ १ महिला र ३ पुरुष गरी चार जना संक्रमितको उपचार भइरहेको छ । त्यहाँ तत्काल ५० बेड क्षमताको आइसोलेसन सेन्टर बनाइएको हो । यस्तै निर्माणधित योग तथा प्राकृतिक अस्पताल भवनलाई समेत आइसोलेसनको रुपमा प्रयोग गर्ने तयारी भइरहेको जनाइएको छ ।
‘त्यहाँ तत्काल २१ बेड क्षमता हुनेछ । खर्च गर्न सक्ने संक्रमित होटलमा बस्छन्, खर्च गर्न नसक्ने संक्रमितलाई अस्पतालमा राखेर उपचार गरिनेछ । पछिल्लो समय सम्बेदनशिल केसहरु देखा परेका छन् ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । पछिल्लो आठ दिनमा कोहलपुरमा कोरोना अपेक्षित रुपमा थपिरहेको भन्दै उनले सबैलाई सचेत रहन समेत आग्रह गरे ।
गत विहीबार वडा नम्बर ५ का एक ८८ वर्षीय बृद्धलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले उनको खजुरास्थित शुसिल कोइरोला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । कोहलपुरमा अहिलेसम्म कोरोनाका कारण एक जना महिलाको मृत्यु भएको छ । वडा नम्बर २ की एक ७० महिलाको गत साता कोरोनाका कारण नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्