मापदण्ड मान्दैनन् सवारीसाधन



शिवु खनाल । दाङ ।

दाङको लमही घोराही सडक खण्ड दैनिक रुपमा सञ्चालन हुने ठूला तथा साना गाडीहरूमा यात्रुहरू खचाखच भरिएका छन् । यात्रु तथा सवारी चालकले कुनै पनि सावधानी नअपनाई सवारी चलाउने गरेको सजिलै देख्न पाइन्छ लमही बसपार्कमा । चालक, सह–चालकदेखि लिएर यात्रु वर्गहरु कसैको मुखमा मास्क छैन, भौतिक दुरी कायम त परै जाओस् । चालकहरूले सवारीसाधनमा नत सेनिटाइजर बोकेका छन् नत, मास्क नै ।

दिनप्रतिदिन कोरोना भाइरसका संक्रमित बढ्दै जान थालेपछि साना तथा ठूला सवारीसाधनले मापदण्ड विपरीत सवारीसाधन चलाउन थालेको जनगुनासो आउने थालेपछि दाङको लमही नगरपालिकाले लमही बसपार्कमा रहेका घोराही, अमिलिया, रिहार, भालुवाङ्, गढवा अन्तरगत सञ्चालन हुने साना तथा ठूला सवारीसाधनको स्थलगत अनुगमन गरेको छ । अनुगमनमा लामो तथा छोटो दुरीमा सञ्चालन हुने साना तथा ठूला सवारीसाधनका चालकले मापदण्ड विपरीत सवारीसाधन चलाउँदै आएको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी जानकारी दिए ।

‘सवारीसाधनका चालकले कुनै पनि सावधानी अपनाएको देखिएन । गाडीमा हुलका हुल यात्रुहरू बोकी ओसारपसार गरेका छन् तर, न्यून भन्दा न्यून अपनाउनुपर्ने सावधानी कुनै पनि सवारीसाधन देखिएन’ उनले भने । ‘कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै आतंकित बनाएको र नेपालको विभिन्न जिल्लामा कोरोना भाइरस समुदाय स्तरमा फैलिएको बेला नेपाल सरकारले बनाएको मापदण्ड अनुसार कुनै पनि सवारीसाधन चलाउने चालकहरूले मापदण्ड विपरीत सवारीसाधन चलाएको भेट्यौं । एक पटक मात्रै होइन, पटकपटक अव सवारीसाधनको अनुगमनको गतिलाई तिव्रता दिनेछौँ ।’

इ–रिक्साको पनि मनोमानि

दाङ देउखुरीका विभिन्न पालिका स्तरमा सञ्चालित इ–रिक्साका चालकहरुले मापदण्ड विपरीत यात्रुहरू ओसारपसार गर्ने र चर्काे रुपमा भाडा लिएको सरोकारवालाहरूले बताएका छन् । इ–रिक्साका चालकहरुले स्वास्थ्य सम्बन्धी कुनैपनि मापदण्ड नअपनाई इ–रिक्साका चालकहरुले यात्रुहरु बोक्ने गरेको स्थानियहरुको गुनासो बढ्दै गएको छ ।

यस्तै स्थानीयस्तरबाट गुनासो आउन थालेपछि लमहीमा सञ्चालित इ–रिक्साहरूको लमही नगरपालिकाले शुक्रबार अनुगमन गरेको हो । अनुगमनमा सिटको क्षमता भन्दा अत्यधिक यात्रुहरू बोक्ने र समितिले तोकेको मुल्य भन्दा चर्काे भाडा इ–रिक्साले लिएर यात्रुहरू ओसारपोसार गरेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जानकारी बताए । यसैबीच मापदण्ड विपरीत सञ्चालन हुने जुनसुकै सवारीसाधनलाई नियन्त्रणमा लिएर चालकलाई कारवाही गर्न लमही नगरपालिका नगर प्रमुख केसी अस्थायी ट्राफिक पोष्ट कार्यालय लमहीलाई निर्देशन दिएका छन् ।

लमही, घोराही, अमिलिया, रिहार, भालुवाङ् र गढवा वा जुनसुकै रूटमा सञ्चालित हुने साना तथा ठूला सवारीसाधनले मापदण्ड विपरीत चर्को भाडा लिएर यात्रु बोक्ने र असावधानी पूर्वक सवारीसाधन सञ्चालन गरेको भेटिएमा त्यस्ता सवारी चालक र सवारीलाई तुरुन्तै नियन्त्रणमा लिएर कारवाही गर्न निर्देशन दिए । उनले नेपाल सरकारले लागू गरेको निर्णय भन्दा बाहिर गएर सवारीसाधन चलाउने, निर्धारण गरेको सिटको क्षमता भन्दा बढि यात्रु बोक्ने, चर्को भाडा लिने र असावधानी पूर्वक सवारीसाधन तथा इ–रिक्साका चलाउने चालकलाई तुरुन्तै नियन्त्रणमा लिएर कारर्वाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । शुक्रवार लमही नगरपालिका, देउखुरी उद्योग बाणिज्य संघ लमही, अस्थाई ट्राफिक पोष्ट कार्यालय लमही, सरोकारवालाहरुले संयुक्तमा सवारीसाधनहरुको अनुगमन गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिबार