रावन विश्वकर्मा, बाँसगढी ।
बर्दिया जिल्लामा आइतबारदेखि जारी गरिएको निषेधाज्ञा बाँसगढीमा थप प्रभावकारी बनाइने भएको छ । बाँसगढी क्षेत्रमा समुदाय स्तरमा नै कोरोना संक्रमण फैलिसकिएकोले निषेधाज्ञालाई थप प्रभावकारी बनाउने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियाले आइतबार बिहान ६ बजेदेखि साउन २९ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।
जारी निषेधाज्ञालाई थप प्रभावकारी बनाउने विषयमा आइतबार बसेको बाँसगढी नगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको थियो । बाँसगढी नगरपालिकाका कार्यबाहक नगर प्रमुख सुष्मा चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, निस्कनैपरे अनिवार्य माक्स लगाउने, माक्स नलगाउनेलाई १ सय २५ रुपैयाँ जरिवाना गर्ने, अत्यावश्यक पसल दुध डेरी, फलफुल र खाद्यान्न पसल विहान ६ बजे देखि ९ बजेसम्म खोल्न दिने, नगरपालिकामा आईसोलेसनको क्षमता बढाउने निर्णय गरेको थियो ।
त्यस्तै पीसीआर पोजिटिभ देखिएकाहरु आफ्नो घरमा नै बस्न चाहेमा घरको भौतिक अवस्था हेरी बस्न दिने, होटेलको आईसोलेसनमा बस्न चाहानेहरुको लागि होटेल खोज्ने, कोरोना संक्रमण देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका नागरिकहरुको खोजी गरि परीक्षणको दायरा बढाउने र समुदाय स्तरमा कोरोना संक्रमणबाट बच्ने उपायका विषयमा जानकारी गराउने निर्णय समेत गरेको छ ।
बैठकमा नगरमा उपलब्ध विभिन्न राजनितिक दलका प्रतिनिधी, बाँसगढी उद्योग वाणिज्य संघका प्रतिनिधी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । बाँसगढीमा समुदाय स्तरमा कोरोना फैलिसकेको अवस्थामा रहेको छ । केही दिनअघि त्यहाँका एक वडाध्यक्षसहित दुई जना बैंकका कर्मचारीहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।









प्रतिक्रिया दिनुहोस्