रावन विश्वकर्मा, बाँसगढी ।
ईलाका प्रशासन कार्यालय बाँसगढी बर्दियाको भवन शिलान्यास गरिएको छ । वि.स.२०७३ सालमा कार्यालय स्थापना भई भाडाको घरबाट सेवा दिदै आएको इलाका प्रशासनको कार्यालय भवनको शनिबार शिलान्यास गरिएको हो । बाँसगढी नगरपालिका– ८ ककौरामा रहेको २ कट्ठा जग्गामा बन्न गइरहेको भवनको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले शिलान्यास गरेका हुन् ।
ककौरा चोकको पश्चिम राजमार्गदेखि उत्तर झण्डै २ सय मिटर अगाडी कार्यालय भवन निर्माण हुन गइरहेको हो । भवनको शिलान्यास गर्दै प्रजिअ अधिकारीले निर्माण कम्पनीलाई जिम्मेवार भएर गुणस्तरिय र नमुना भवन निर्माण गर्न आग्रह गरेका थिए । ‘सेवाको गुणस्तर बढाउन थप काम गर्नु पर्ने आवश्यक छ’ उनले भने, ‘अहिलेको समयमा धेरै कुराको परिवर्तन भए पनि पुरानो संस्कृति, सोच र व्यवहार परिवर्तन गर्न जरुरी छ ।’ शिलान्यास कार्यक्रममा सहभागि संविधान सभा सदस्यद्धय निर्मल प्रकाश सुवेदी र श्याम ढकालले कार्यालय भवनको निर्माणपछि सेवा प्रवाहमा थप सहज हुने बताए ।
उनीहरुले भवन समय अवधिमा निर्माण गर्न र गुणस्तरियतामा ध्यान दिन समेत निर्माण कम्पनीलाई आग्रह गरेका थिए । ३ करोड ८२ लाख ३६ हजार ८ सय ८५ रुपैयाँ ४६ पैसा बराबरको लागतमा भवन निर्माण सुरु भएको ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्यले जानकारी दिए । भवन निर्माणको जिम्मा जय भवानी रेग्मी जेभी निर्माण कम्पनी कोहलपुर बाँकेले पाएको छ । साढे २ तले भवन १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको निर्माण कम्पनीका सन्तोष रेग्मीले बताए । बाँसगढी, ८ ककौराका लक्ष्मीदेवी पौडेल र कृष्ण प्रसाद अर्यालले ईलाका प्रशासन कार्यालय बाँसगढीलाई २ कट्ठा जग्गा दान गरेका थिए । शिलान्यास कार्यक्रममा जग्गा दाता दुवै जनालाई प्रमुख जिल्ला अधिकारी अधिकारीले खादा ओढाएर सम्मान गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्