धान गोड्ने बेलामा मल अभाव



दिनेश कुमार बुढा । सुर्खेत ।

साउनमा महिना असारमा रोपिएका धान गोड्ने समय हो । तर गोडमेल गर्नु पहिला मल छर्नुपर्ने हुन्छ । कसैले त गोड्मेल गरी सकेपछि पनि मल छर्कने गर्छन् । कृषकका लागि बजारमा प्राप्त रुपमा मल अहिले उपलब्ध नहँुदा किसानहरु मर्कामा परेका छन् । धान खेतीका लागि अत्यावश्यक हुने रासायनिक मल नहुँदा धेरै किसानहरु मारमा परेका हुन् ।

‘खेतमा लगाइएको धान बढ्न थाल्यो । बजार भरी मलको लागि डुल्न सम्म डुले । तर कतै मल नपाएर सस्मया भएको छ । अहिले अधिया गरेर २ विघा खेतमा रोपिएको धान गोडिरहेका छौँ’ वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ कि अग्नी चौधरीले भनिन् । त्यस्तै वीरेन्द्रनगर वडा नम्बर ३ पटेनीका ओम प्रसाद भण्डारीको पनि गुनासो पनि उस्तै छ । उनी भन्छन् ‘जस्तो खेत पहिला थियो त्यस्तै छ मल नहालेरै गोड्ने काम भएको छ । मल ल्याउन बजारतिर कति दिन धाएँ । तर पहिलेको जस्तो राम्रो मल पाइएन् ।’ उनले बजारमा खोज्दा समेत नपाउँदा आफूलाई निकै समस्या भएको बताए ।

चौधरी र भण्डारी प्रतिनिधि पात्र मात्रै हुन् । किसानहरु मल पाउने आशमा दैनिक सुर्खेतस्थित कृषि सामग्री कम्पनीको कार्यालय धाउने गरेका छन् । तर रासायनिक मल नपाउँदा सधै जस्तो खाली हात घर फर्किनुपर्ने अवस्था रहेको छ । स्थानीय स्तरमा मल विक्रिका लागि अनुमति पाएका सहकारीले समेत मल उपलब्ध गराउन सकेका छैनन् । खेत गोडमेलको काम धमाधम चलिरहँदा पनि सहकारी संस्थाहरुमा पर्याप्त मल छैन ।

खेतीको समयमा मल नपाउँदा कर्णाली प्रदेश भरीका किसान समस्या समस्या भोगिरहेका छन् । किसानहरुले मल नपाएर कसैले खेत गोड्न ठप्प राखेका छन् त कसैले मल आउने आशमा मल नहालेरै गोडेका छन् । मल उपलब्ध गराउँदै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यलय सुर्खेतका अनुसार अहिले सुर्खेतमा मात्र नभएर देशैभर रासायनिक मलको अभाव छ । कार्यलय प्रमुख टोपाराम केसी रासायनिक (युरिया) मल कर्णालीमा मात्र नभइ देशै भरी नै नभएको बताउँछन् । लकडाउन भइसकेपछि देखि युरिया मल नेपाल नभित्रिएका उनले बताए ।

प्रकाशित मिति : २०७७ साउन १४ गते बुधबार