कांक्रेविहारको संरक्षणमा जुटे स्थानीयबासी, वन्यजन्तुका लागि घाँसका बिरुवा रोपियो



सुर्खेत ।

सुर्खेतको पर्यटकीय स्थल कांक्रेविहारको संरक्षणमा स्थानीयहरु जुटेका छन् । कांक्रेविहार क्षेत्रलाई स्थानीयहरुले घरपालुवा जनावर चराउने, घास, दाउँरा र स्याउँलाको लागि प्रयोग गर्दै आएका थिए । अहिले भने कर्णाली प्रदेश र स्थानिय सरकारको सहयोगमा स्थानीयहरु कांक्रेविहारको संरक्षणमा जुटेका हुन् । सोही क्रममा बुधबार उक्त क्षेत्रमा स्थानीयको संक्रियतामा वृक्षारोपण समेत गरिएको थियो । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ लाटिकोइलीका युवाको सक्रियतामा जन्ती साल क्षेत्रमा एक हजार पाँचसय सुपर नेपियर घाँसका बिरुवाहरु रोपिएको हो ।

चारैतिर आवादी रहेको चरिचरणको अभावका कारण वन्यजन्तु जरायोलाई लक्षित गरि घाँस रोपिएको युवाहरुले बताएका छन् । केशव कोइरालाले एक हजार बिरुवा र सुगारिका कृर्षी फर्मका सुशील केसीले पाँचसय सुपर नेपियरका बिरुवा सहयोग गरेको स्थानिय युवा सनम गिरीले जानकारी दिए । तीन महिनाभित्र उक्त बिरुवा जरायोको लागि खान उपयुक्त हुनेछन् । वीरेन्द्रनगर ९ का वडा–अध्यक्ष सुरेश मानन्धर, ऋषि गिरी, नारायण जिसी, मेघराज गिरी, केशव गिरी, तारा राष्कोटी लगायतको समुहले बिरुवा रोपेको थियो ।

‘आज रोपेको नेपियर बिरुवाले चरिचरणका लागि जरायो लगाएतका वन्यजन्तुका लागि निकै प्रभावकारी हुनेछ’ वडाअध्यक्ष सुरेश मानन्धरले भने । स्थानीय ऋषिले बिरुवाको अन्य स्थानमा समेत माग भएमा यसलाई व्यवसायिक रुपमा लैजान सकिने बताए । संरक्षणमा लागेका समूहले यसका बिरुवा बेचेर आम्दानी लिन सक्ने उनको भनाई रहेको थियो । स्थानिय युवा नारायणले पहिलो चरणमा परीक्षणको रुपमा एक हजार पाँचसय बिरुवा लगाईएको जानकारी दिए । ‘यस बिरुवाको उत्पादनलाई हेरेर दोस्रो चरणमा अरु बिरुवा पनि थपेर रोप्ने योजना यहाँका युवाहरुको रहेको छ ।’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन १ गते बिहीबार