बाँकेको कोहलपुर नगरपालिकामा क्रियाशिल पाँच वटा राजनीतिक दलहरुले कोहलपुर नगरपालिका ४ मा रहेको सार्वजनिक जग्गा भू –माफियाको कब्जामा भएको प्रकरण प्रति ध्यानाकर्षण भएको जनाएका हुन् । सोमबार एक विज्ञप्ति जारी गर्दै यहाँका राजनीतिक दलका दलहरुले उक्त प्रकरण प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । ४१ जना भू–माफियाहरुले कब्जा गरेको र मालपोत कार्यालय बाँकेले समेत जग्गा धनी प्रमाण पत्र समेत जारी गरी मालपोत दाखिला गर्नु भनी कार्यालयले जारी परेको मिति २०७७÷०३÷२३ को पत्र प्रति समेत ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विज्ञप्ति मार्फत व्यक्तिगत भनिएका उक्त जग्गाहरु सार्वजनिक जग्गा नै भएको दाबि गरिएको छ । कोहलपुर–४ किरणनाला नजिकैको पुर्व पश्चिम राजमार्गसँग जोडिएको साबिक रझेना गा.वि.स. ३ ख कित्ता नम्बर ७६, ७७, ७८ र ७९ को ६–०–० जग्गाहरु मध्ये ४–०–० जग्गा अवैधानिक तरिकाबाट शुशिल कुमार लामिछाने समेतका ४१ जनाका नाममा जग्गा दर्ता शुभारम्भ भएको छ ।’ ५ राजनितिक दलका १० जना प्रतिनिधिहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । साथै उक्त जग्गा सरक्षणको लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको कानुनी अधिकार गर्न कोहलपुर नगरपालिकालाई आग्रह गरिएको छ । साथै स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गर्न हिचकिचाएमा यहाँका राजनीतिक दलहरु स्थानीय सरकार र भू–माफिया विरुद्ध शसक्त आन्दोलन गरी अनैतिक कार्यबाट भएको जग्गा दर्ता प्रक्रिया निष्कृय पार्न सक्ने सम्मको चेतावनी समेत दिइएको छ ।
उक्त प्रेस विज्ञप्ति मार्फत उनीहरुले सार्वजनिक सरकारी जग्गा अबैधानिक प्रक्रियाबाट जग्गा दर्ता कार्यमा सहयोग गरी संलग्न नेपाल सरकारका जो कोही व्यक्ति समेतलाई आवश्यक कारबाहीको समेत माग गरेका छन् । उक्त संयुक्त प्रेस विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी कोहलपुर नगर अध्यक्ष बसन्ती अधिकारी, सचिव तुलाराज बिष्ट, नेपाली काँग्रेस नगर सभापति बलराम शर्मा, सचिवद्धय भुम बहादुर भण्डारी र सुशिल सापकोटा, राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष भिम प्रसाद देवकोटा, नेपाल मजदुर किसान पार्टीका नगर अध्यक्ष अंजिर बहादुर शाही, उपाध्यक्ष मन प्रसाद आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका सह–सचिव रुद्रमणी न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी कोहलपुरका सचिव यज्ञ रेग्मीको हस्ताक्षर रहेको छ ।









प्रतिक्रिया दिनुहोस्