नेपालगञ्ज ।
उद्योगी व्यवसायीलाई राहत कार्यक्रमको माग गर्दै आयोजना गर्न लागेको आन्दोलनका विषयमा विभिन्न बस्तुगत संघहरुसँग छलफल गरिएको छ । मंगलबार बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य संघले आन्दोलनका विषयमा विभिन्न बस्तुगत संघहरुसँग छलफल गरेको हो । छलफलको क्रममा यहाँका दुई दर्जन बढि बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिले राहतका लागि दवाव दिने संघको आन्दोलनमा पूर्ण सर्मथन जनाएका थिए । महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अस्त व्यस्त बनेको उद्योग, व्यवसायलाई उकास्न राहत प्याकेजको माग गर्दै संघले आन्दोलन गर्ने निर्णय गरिसकेको छ ।
सोही निर्णयलाई यहाँका बस्तुगत संघका अगुवाहरुले साथ दिने भएका हुन् । कोरोना कहरका कारण उद्योग, व्यवसाय क्षेत्र सबै भन्दा बढि प्रभावित भएको छ । बैंकको ब्याज र सरकारलाई बुझाउनु पर्ने करका कारणले उद्योगी, व्यवसायीहरु कष्टकर अवस्थामा आईपुगेको भन्दै छलफलमा सहभागि उद्योगी, व्यवसायीले आन्दोलनको कार्यक्रम आयोजना गरी सरकारलाई दवाव दिन सुझाव दिएका थिए । सरकारबाट राहत पाउन नसकेका व्यवसायीले आगामी मौद्रिक नीतिबाट राहत पाउने आशा गरेका छन् । मौद्रिक नीतिबाट व्यवसायीका माग सम्बोधनको दवाव दिन संघले आन्दोलनको कार्यक्रम गर्न लागेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए ।
उनका अनुसार, बस्तगत संघसंस्थाको सुझावका आधारमा संघले चाँडै आन्दोलन गरी सरकारलाई दवाव दिने तयारी गरेको छ । मंगलवारको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य लगायत संघका पदाधिकारी एवं कार्यसमिति सदस्यको सहभागिता रहेको थियो । आन्दोलनबारे संघले उद्योग व्यवसाय सम्बधी विभिन्न अगुवा तथा संघहरुसँग छलफल चलाइराखेको छ । उद्योग व्यवसायीका मागहरु पूरा गर्नुपर्ने भन्दै संघले सरोकारवाला निकायहरुलाई मागपत्र समेत बुझाइसकेको अवस्था रहेको छ ।









प्रतिक्रिया दिनुहोस्