रावन विश्वकर्मा । बाँसगढी ।
बर्दियाको बाँसगढीमा किसानहरुका गाई भैसीलाई सुत्केरी पोषण भत्ता वितरण गरिएको छ । बाँसगढी नगरपालिकाको पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रम अन्तरगत सोमबार बाँसगढीका ९१ वटा सुत्केरी गाई तथा भैसीलाई पोषण भत्ता वितरण गरिएको हो ।
नगर पशु विकास शाखा बाँसगढीले पशु पालक किसानका सुत्केरी गाई भैसीलाई २ हजारका दरले पशु सुत्केरी पोषण भत्ता वितरण गरेको थियो । २०७६ साल मंसिर २० गतेदेखि हालसम्म पशु विकास शाखामा किसानहरुद्धारा दर्ता भएका १ सय २५ वटा सुत्केरी गाई भैसी मध्ये मापदण्ड पुगेका ९१ वटा किसानका गाई भैसीहरुलाई भत्ता दिइएको हो ।
सुत्केरी भत्ता सोमबार एक कार्यक्रमका बीच बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले किसानहरुलाई वितरण गरेका थिए । चालु आर्थिक वर्षमा कृषि विकास शाखाले २ सय गाई भैसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्ने लक्ष्य राखेको भए पनि मापदण्ड पुगेका ९१ गाई भैसीलाई मात्रै भत्ता वितरण गरिएको कृषि विकास शाखा प्रमुख डा. प्रेम कुमार मण्डलले जानकारी दिए । ‘शाखामा पशु सुत्केरी भत्ताको लागि १ सय २५ वटा निवेदन परेका थिए’ उनले भने, ‘निवेदन परेका मध्ये सबै मापदण्ड पुरा भएका किसानका गाई भैसीलाई मात्रै भत्ता वितरण गरिएको हो ।’
बाँसगढी नगरपालिका कृषि विकास शाखाले आगामी आर्थिक वर्षको लागि किसानका २ सय गाई भैसीलाई पशु सुत्केरी पोषण भत्ता वितरण गर्ने लक्ष्य राखेको छ । पशु पालक किसानहरुले आफ्नो गाई तथा भैसी सुत्केरी भएको १ महिना भित्रमा पशु विकास शाखा बाँसगढीमा निवेदन दिनुपर्ने छ । पशु सुत्केरी भत्ताको लागि निवेदन दिदाँ पशु बीमा गरेको कागजात अनिवार्य हुनु पर्ने नगर पशु विकास शाखाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्