सुदीप अधिकारी । बर्दिया ।
बर्दियामा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । जिल्लामा बिहिबारसम्म १ सय ४१ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा कोरोना जित्नेमा हालसम्म १ सय २७ पुरुष र १४ जना महिला छन् । जिल्लामा अब महिला ५ र पुरुष ३४ गरि जम्मा ३९ जना मात्र आइसोलेसनमा छन् ।
उनीहरुको जिल्लास्थित विभिन्न आइसोलेसन कक्षमा उपचार भइरहेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले बिहिबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्राथमिक स्वास्थ्य केन्द्र मगरागढीको आइसोलेसनमा ५ जना, बाँसगढीको आइसोलेसनमा १ जना मैनापोखरमा ३ जना, शिवपुर स्वास्थ्य चौकीमा १ जना, कबर्ड हल गुलरियाको आइसोलेसनमा १३ जना उपचाररत् छन् ।
यसैगरि बाँकेको खजुरा कोरोना विशेष अस्पतालमा ४ जना, राजापुरको आइसोलेसनमा ३ जना, ठाकुरबाबा नगरपालिकाको भवनमा ५ जना र गेरुवा गाउँपालिकाको आइसोलेसनमा ४ जना गरि जम्मा ३९ जना मात्र अब आइसोलेसन कक्षमा उपचारका क्रममा छन् । कोरोना संक्रमित निको हुने क्रम बढ्दै गएपछि बर्दिया जिल्ला चाँडै नै कोरोना मुक्त हुने स्वास्थ्यकर्मीहरुले विश्वास व्यक्त गरेका छन् ।
जिल्लामा हालसम्म आरडीटी विधिबाट १२ हजार ३९४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । भने हालसम्म ३ हजार १ सय ३९ जनाको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाब मध्ये ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । जिल्लामा क्वारेन्टिनमा बस्नेको संख्या पनि दिनानुदिन घट्दै गइरहेको छ ।
जिल्लाका विभिन्न स्थानमा रहेको क्वारन्टिनमा अब ७ सय ६५ जना मात्र छन् । क्वारेन्टिन खाली हुँदै गएपछि अधिकाशं क्वारेन्टिन बन्द गरिएका छन् । अर्को तर्फ भारतलगाएत अन्य स्थानबाट आउने क्रम पनि बिस्तारै कम हुँदै गएपछि क्वारेन्टिन रित्तिदै गएको स्वास्थ्य कार्यालयको जनाएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार जेठ १ गतेदेखि हालसम्म देशमा विभिन्न स्थान र भारतबाट गरि जम्मा ७ हजार १ सय ७३ जना मानिस जिल्ला भित्रिएका थिए ।प्रशासनले जिल्ला भित्रने सबैलाई आफनो पालिकाको क्वारेन्टिनमा १४ दिन अनिवार्य बस्नु पर्ने नियम लागू गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्