जीवन के हो ? यो प्रश्नको उत्तर आ–आफ्ना भोगाइ अनुसारका छन् । गर्भाधानको पहिलो प्रहरबाट नमरुज्जेल जे जे बित्छन्, त्यही नै जीवन हो । त्यसैले जीवन अनुभूतिहरुको सङग्रह हो । ‘सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन ।, त्यत्तिकै तारादेवीले गाएकी होइनन् होला । १५ वर्षको कलिलो उमेरमा एउटा केटाले नजर लगायो । किशोर अवस्थामा काउकुती लाग्यो । जिउमा मायाका काँठा उठे । निद्रा लुटेर लग्यो । सोच्ने बनायो । के गरौं गरौं भयो ? साथी–संगीले केटो राम्रो छ भने । चक्कर चल्यो । माया बस्यो । केटाको आउजाउ बढ्यो । उठबसले गति लियो । प्रेमको डोरीले कस्यो । केटाको मायाले च्याप्प गुलाबी काँडाले झैं समात्यो । सम्बन्ध फूल जस्तो भयो । छाती धक्क फुलेर आयो । वसन्तको वहार पनि फिक्का बन्यो । ‘पाकेको फल खाएको राम्रो, काँचैमा माया लाएको राम्रो’ भनेझैं । केटो राम्रो । केटीको हेर्ने आँखा राम्रा । सुन्दरता हेर्नेहरुका आँखामा हुन्छ । होचो कद, बाटुलो अनुहार, ठूला आँखा, चम्किलो छाला । सबथोक मिलेको, साह्रै राम्रो । फलेको चामल जस्तो । खोस्याएको ओखर जस्तो ।
केटी पनि उत्तिकै राम्री । बलेको दियो जस्ती । उभ्याएको देवलजस्ती । दुबैका आँखा राम्रा । नजर राम्रा । मन सफा । केटोले ‘भागौं’ भन्यो । साथीहरुले ‘मौका छोप’ भने । मनले खाएको मान्छेसँग भाग्नलाई किन आइतबार कुर्नू ? त्यसरी भगाउनेको नाम हो धर्मजित कामी हुन् । भागिदिने केटी हुन् पिउली । पिउली र धर्मजितको कलिलो प्रेम बिहेमा परिणत भयो । घरबार सुरु भयो । जीवन रंगिन भयो । संसार जितेझैं खुसियाली छायो । ढिलो नगरी बिहे सम्पन्न भयो । दिन रमाइलै थिए । दिन बित्दै गए । गुजारा चलिरहेको थियो । बिहे भएको सात महिनामा घरमा खुशी थपियो । छोरा जन्म्यो । हुक्र्याे । दुई वर्षको भयो । त्यसैबेला ऊ बिरामी प¥यो । जति उपचार गरे पनि औषधि लागेन । रोग पहिचान भएन । अन्ततः ऊ म¥यो । पिउलीलाई लाग्छ दुःखका दिन त्यतिबेलै सुरु भएका रहेछन् । ‘जराको जिलो रैरह्यो । टुप्पाको फल मासियो ।’ उसको यादमा घाट किनारमा गएरै लामो समयसम्म रोएर दिन कटाई । गाउँघरका सबैले ढाडस दिए । भरोसा दिए । समय बदलिदै गयो । याद पुरानै आउन थाल्यो ।
चुरोटको अम्मल बस्यो । पीडा भुलाउन चुरोटले सहयोग ग¥यो । एक वर्षपछि अर्को छोरो जन्मियो । नौ कक्षामा पढ्छ ऊ । स्कुलकै राम्रो विद्यार्थी हो । जहिले प्रथम हुन्छ । छोरोको पढाइले पिउलीलाई सन्तोषको सास फेराएको छ । स्कुलका मास्टरहरु उसको तारिफ गर्छन् । त्यो सुनेको दिन पिउली चैनसँग सुत्छे । त्यसको चार वर्षपछि अर्को छोरो पनि जन्मियो । दुई छोरा भए । दुई छोरा स्याहार्दा मरेको छोराको पीडा कम हुँदै गयो । तर, कम भएको पीडाले पीडामाथि हुने पीडालाई दबाउन सकेन । धर्मजित कुनै नोकरीवाल थिएन । थोरै जग्गा जमिनबाट नै गुजारा चलाउने परिवारमा जन्मिएको ऊ हुर्कंदै जिम्मेवारीको पहाड उठाउने भइसकेको थियो । गुजारा के हुनु ? छ भन्ने मात्रै हो । खेतीपातीबाट खान पुग्दैन । मुस्किलले ६ महिना कट्दैन । बाँकी मजदुरी हो । त्यो पनि सीप भएकाले पाउने । ऊ कति पटक इन्डिया गयो । धन कमाएर परिवार सुखी बनाउँला भनेर । तर सीप चलेन । एकपटक बाख्रा पालन ग¥यो । त्यसले पनि अवस्था सुधारेन । भएका बाख्रा मरे । तिनको पनि रोग पहिचान भएन । लगानी डुब्यो । ऋण लाग्यो । ‘सहर जाम्ला नि धन कमाई ल्याम्ला नी’ भन्ने गीत सुनेर आँश मान्नु मात्रै भयो । अवस्था फेरिएन । बसपार्कमा होटल पनि ग¥यो । होटलमा उदारो खानेको संख्या घटेन । उदारो फिर्ता गर्ने ग्राहक भएनन् । उसको सबै लगानी ऋणमा परिणत भयो । त्यही अवस्थामा होटल चलाइरहनु झन् बढी नोक्सान बेहोर्नु पर्ने देखियो । व्यवसाय बन्द गर्नुको विकल्प देखिएन । सफलता हात लागेन । लगानी डुब्यो । त्यसले रातको निद हराम भयो, दिनको भोग हराम भयो । चिन्ताको कालो बादलले मनमा घाम लाग्न
दिएन । मन पूरै उजाड मरुभूमि जस्तो, शिशिरमा पात झरेको रुख जस्तो । अँधेरी रात जस्तो । उसलाई मन्द नसाको लत बसाल्यो । चुरोटसँग माल खान सिक्यो । माल मतलव गाँजा । इतिहासमा गाँजालाई नराम्रो नसा मानिएको देखिदैन ।
उसको नसाबारेको नकारात्मक टिप्पणी कसैले गरेन । अथवा धेरैलाई थाहा भएन । गाउँले सबैका लागि ऊ प्यारो थियो । कसैलाई कुनै दिन नराम्रो गरेन । पिउलीलाई लोग्नेको यो गुण आफ्नो सम्पत्ति जस्तो लाग्थ्यो । समय बित्दै गयो । छोराहरु हुर्कंदै गए तर लोग्ने गल्दै गयो । ऊ लामो समयसम्म बिरामी प¥यो । उपचारको निम्ति अस्पतालको वेडमा धेरैपटक भर्ना भयो । रोग पत्ता लागेन । कहिले निको भएजस्तो हुने । फेरि व्याथाले च्यापिहाल्ने । औषधि
लागेन । पिउलीले अस्पतालको बेडमा पट्यारलाग्दो समय कतिपटक बिताइन याद छैन । जिन्दगीमा दुखक हिसाब राख्यो भने पृथ्वी बोझिलो हुन्छ । धेरैले देवी देउताको कारण हुनसक्ने भने । त्यसपछि सुरु भयो, देउतासँगको श्रृङखला । गन्यमान्य कोही देउता बाँकी रहेनन् । बाह्रभाइ मस्टोका सबै थान र धामी, नवदुर्गा भवानी मान्दै, पुज्दै आएका लाटी र बहान केही रहेनन् । मानो, फुल, चामल, मुठो, ध्वजा तिरेका कोही देउता बाँकी रहेनन् । लोग्नेको कमजोर शरीर बोकेर सबै गाउँगाउँ चाहारी । थानथान पुगी, धामी, धुमेनी सबै भेटी । नचिनेको धामी, धुमेनी को होला ? नबुझेको देउताको होला ? सबै देउताका धामी, धुमेनीले एकले अर्काको दोष देखाए । फलानो देउता लाग्यो भने ।
देउता लागेपछिको उपचार भनेको जरिवाना स्वरुप जस तिर्नु हो । त्यसपछि उसले भने बमोजिमको जस तिरी । दुई खशी, चार कुखुरा सुनरगाउँ मस्टोले खायो । चार कुखुरा, एक पाठो बाबिरा मस्टोले पनि पचायो । चार कुखुरा, एक पाठो सिंहाचौर बाबिराले पनि बाँकी राखेन । चार कुखुरा, एक पाठो माइती देउताको भाग लाग्यो । पाँच कुखुरा, एक पाठो घरका देउतालाई छुट्याई । बन देउतालाई समेत रिझाउनु प¥यो । तिर्ने ठाउँ तिर्नु प¥यो । नतिर्ने ठाउँ तिर्नु प¥यो । औंसी, पूर्णिमा आए कि जस खोज्न गाउँगाउँ चाहर्नु परेका दिन आजै जस्तो लाग्छ । घरको देउताले फेरि घर बनाएको माटोको दोष देखायो । माटो छोड्नुपर्ने भयो । त्यसको पनि उपचार भनेको पुरानो माटो धनीलाई रिजाउनु पर्ने रहेछ । त्यसपछि एक खशी । माटो धनीको लागि फेटा, एकसरो कपडालगायत तिर्नुपर्ने रहेछ । त्यो कर्मकाण्ड पनि पूरा भयो । तर लोग्नेको जीउ ठाडिएन । लोग्नेको आय आर्जनका सबै प्रयास असफल भएपछि । ऋण बोकेर बसेको भारी जीउले यो सब गरेर जस तिर्ने कुरै आएन । उसले काम गरेर सब गर्न सम्भव भएन । भएको जमिन बेच्नु बाहेक विकल्प थिएन । लोग्नेको जिउ जति प्यारो अरु केही हुँदैन रहेछ । ऊ थाकिन । बाँकी रहेको अरु जमिन पनि बेची ।
थप ऋण काडेर उपचारको लागि काठमाडौं लैजाने सल्लाह भयो । देवर लोग्नेको उपचार गर्न काठमाडौं जाने भयो । सबै पैसा बोकेर उनीहरु दुईजना उपचारको लागि काठमाडौं गए । काठमाडौं पुगेकै दिन बसपार्क झर्ने बित्तिकै आकासे पुलनेर दाइलाई राखेर देवर ट्वाइलेट गयो । ऊ फर्किदा धर्मजित त्यहाँ थिएन । ‘आकाशे पुल भनेको कहाँ हो थाहा भएन । सपनामा देख्छु विपनामा गएकी नाई ।’ कहिल्यै काठमाडौं नगएकी पिउली सम्झिन्छे । तीन वर्षअघि शिवरात्रीको दिन दलजित काठमाडौंमा हरायो । देवरले काठमाडौंमा रहेका सबै साथी–भाइलाई भनेर खोज्न लगायो । नभेटेपछि ऊ रुदै घर फर्कियो । पिउलीको मनले मानेन । उसले ‘कि सास चाहियो कि लास चाहियो’ भनी । रोइ कराई गरी । आँसुका बलिन्द्र धारा बगाई । त्यसपछि गाउँका एकजना सामाजिक कार्यकर्ता तयार भए । उसले भने ‘धर्मजित भेटियो भने अविर लगाउँछु । नभए खरानी घस्छु,’ भन्यो । पिउलीले फुपाजु पनि पठाई । दुईजना काठमाडौं पुगेको केही दिनपछि फागु पूर्णिमाको दिन दलजित नाजुक अवस्थामा काठमाडौंको कालीमाटीमा भेटियो । लोग्ने नभेटिउन्जेल उसको मनमा गएको भुइँचालोको मापन गर्ने यन्त्र हालसम्म पनि यो दुनियाँमा बनेको छैन ।
बैचनी, विक्षिप्त र बिचलित बनेको उसको मन सम्हालियो । ‘कालिमाटी काहाँ हो ? थाहा छैन । सपनामा त्यो ठाउँमा धर्मजित रोइरहेको देखिन्छ । बर्बर आँसु झारेको देखिन्छ ।’ पिउलीले कल्पना गर्दा । मन थाम्न सक्दिन । भक्कानिएर रुन मन लाग्छ उसलाई । भित्तामा टाउको ठोक्न मन लाग्छ । सेरिएर मरौं जस्तो हुन्छ । तर ऊ सक्दिन । दुई छोराको मुख हेर्छ । रोकिन्छे मर्नबाट । थौरै उपचारपछि धर्मजित घर आयो । त्यसपछि उनको शरीर नचल्ने भयो । सिमेन्ट जस्तो भारी र साह्रो शरीरलाई पिउलीले सात महिनासम्म स्याहारी । रामनवमीको दिन, पिउलीसँग न लोग्नेको ज्यान रह्यो, न धन । त्यो दिन सारा संसार अँध्यारो भयो । रात त्यसै अँध्यारो, दिन दलजितको अधुरो साथले अँध्यारो । १५ वर्षको कलिलो उमेरले रोजेको साथ ३० वर्ष पुग्दा नपुग्दै
छुट्यो । मधुर प्रेमको प्रीय आभास टुट्यो ।
याद बेस्सरी छचल्किन्छन् । त्यसपछि ती आँखाबाट नदी बनेर बगिरहन्छन् निरन्तर, निरन्तर । पृथ्वीका सबै सागरमा उसको आँसु पुगेको छ । त्यसैले ती सबै नुनिला छन् । निकै दिनदेखि ऊ घरमा बसेकी छैन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन पनि उनी घरमा थिइन । भोलिपल्ट अबेर अँध्यारो भैसकेपछि घर आई । कालो, मधुरो अनुहार, कालो पहिरन । सल्लाको खोटोले हात पुरै काला । ऊ बिहान सबेरै उठेर राति अवेसरम्म वनमा हुन्छे । दाउरा बनाएर त्यतै छोडेर आउँछे । सुकेपछि बेचेर घरखर्च चलाउने भनेर । आफैले बोकेर बजारमा लग्यो भने एक भारी दाउराको छ सय रुपियाँसम्म आउँछ । त्यसले आफूलाई खाने चुरोट र घरको लागि तेल किन्न ठिक्क हुन्छ । छोराका नौ कक्षाका किताब किनेका छैनन् । दाउरा बेचेर किन्ने सोचेकी छ । जेठो छोरो साह्रै असल छ । उसको अनुहार बाबुसँग दुरुस्तै मिल्छ । उसको अनुहार हेरेर उसको बाबुको याद कम गराउँदै आएकी छ । आजभोलि सायद उसका आँसु सक्किए । बाहिर वर्षात छ । तर ऊसको मनमा रुडो (खडेरी) परेको छ ।
गाडी दुर्घटनामा परेर मरेको भए यसरी म¥यो भन्ने हुने थियो । कँही लोटी मरेको भए यस्तो भयो भन्ने हुँदो हो । कसैले हानी मारेको भए यस्तो भयो भन्न सकिन्थ्यो । मन बुझाउने ठाउँ हुने थियो । त्यस्तो रोग लाग्यो जसलाई कसैले चिन्न सकेनन् । त्यस्ता डाक्टर कोही भेटिएनन् । कोही दुनियाँले पत्ता लगाउन नसक्ने रोग लाग्यो । जग्गा बेचियो । ऋण यति छ भन्ने गन्ति छैन । पीर मर्काको कुनै हिसाब छैन । त्यसैले उसको मन रुखो भयो । आँसुको मुल सुक्यो । धर्मजित दिनदिनै पिउलीलाई भेट्न सपनामा आउँछ । कहिले रोएको देखिन्छ । कहिले लोटेको । आफूलाई बचाऊ भन्छ । झट्ट निदले छोड्छ । पिउली विरक्तिन सुरु गर्छ । आत्मा वरिपरि घुमिरहेको जस्तो मान्छे । दुई वर्षको तिथि गरेर अस्तु सेलाउँला सोचेकी छ । आइमाइहरु देउडा गाउँने गर्थे ‘रुनैन भुन्याका दिन ओछ्यानभरी आँसु । उसलाई त्यस्तै भएको छ ।’ रातभरि छिटिछिटि, फिटिफिटि हुन्छ ।
देउता माटो सुभ्य भएन भन्छ । घर उठाउनु पर्नेछ । घरमा खाने अन्न छैन । जनता आवासका घर ठूला मान्छे र स्थानीय नेताहरुले आफ्ना आफ्ना मान्छेलाई पारे । ऊ प्राथमिकतामा परिन । फेरि दुई छोरालाई केही भयो भने के गरौंला जस्तो मानेकी छे । तर घर लगाउन सजिलो पनि छैन । गाउँका महिलाहरु पनि उसलाई पोइ टोकी, खाई भन्छन् । यी कुरा सुन्दा छाती चार औला फाट्छ । गोली लागे जस्तो हुन्छ । ‘छोरीको छोरो, हरिको पिलो, जडाको जिलो रैरह्यै, तेरो टुपाका फल एकै नरह्यै’ भनेर गाउँघरमा श्राप दिने गर्छन् । उसलाई त्यस्तै भएको छ । ‘कहिले स्याँल घाम, कहिले पाड घाम’ भन्छन् । तर ऊ आफ्ना दिन कहिल्यै आउँदैनन् जस्तो मान्दिन । ‘मरुँ त पाउन्या नाई जोवन । बाँचु कसो गरी ?’ जसो हुन्छ । तर फेरि सोच्छ छोराका दिन त आउँलान नि । त्यही एक त्यान्द्रो आशा बाँकी भएकोले ऊ माथिको उखान सम्झिरहन्छ ।










प्रतिक्रिया दिनुहोस्