पहिलोपटक नागरिकमा लेख छापिएपछि छोरी आयुष्मा रातभरि निदाउन सकिनन् । आफ्ना सारा साथीहरूलाई देखाइन् र खुशी बाँडिन् । खुशी सँगसँगै लेखनलाई निरन्तरता दिइन् । बिस्तारै उनले लेखेका कथा, निबन्ध, कविता र चित्रहरु अन्य पत्रपत्रिकामा पनि आउन थाले । यसरी उनले आफ्नो लेखनलाई अगाडि बढाइन् । कति धेरै खुशी दियो मिडियाले उनलाई । म यहाँ व्यक्त गर्न असमर्थ छु । उनीजस्तै साहित्य प्रेमिहरुका लागि पत्रिका प्लेटफर्म बन्ने गरेको छ । लेखक तथा साहित्यकारहरुलाई निखार्ने र तिखार्ने पत्रपत्रिकाहरु नै हुन् । पहिलोपटक लेख छापिएर आएपछिको मनको उत्साह र लेख्नका लागि हौसिएको मेरो मन अहिले सम्झँदा पनि पुलकित हुन्छ ।
म र मेरी छोरी पत्रिकामा समेटिंदा जसरी खुशी भयौं पहिलोपटक पत्रिकामा नाम आउनेहरु जो कोही पनि खुशी हुने गर्दछन् । यस क्षेत्रमा धेरै लेखक साहित्यकारहरु छन् । हरेक लेखकहरु पत्रिकामा प्रकाशित भएका लेख रचनाहरुबाट उत्साहित भएर नै लेखनलाई निरन्तरता दिन्छन् र स्थापित हुने गर्दछन् । बालबालिकाका लागि त झन् पत्रपत्रिका प्रतिभा प्रष्फुटनको माध्यम नै हो । कोहलपुरमा थुप्रै पत्रपत्रिकाहरु छन् । रेडियो, टेलिभिजन, अनलाइन टिभी र पत्रिकाले पनि सेवा दिइरहेका छन् । कोहलपुरबाट सञ्चालित ती सबै मिडियाहरुले लेखक तथा साहित्यकारहरुलाई महत्व दिने गरेका छन् । यसरी महत्व दिने पत्रिकाहरु मध्ये मिसन टुडे दैनिकको नाम अग्रपंक्तिमा नै आउँछ । मिसनको इतिहास पुरानो भैसकेको छ । उहिलेदेखि अहिलेसम्म मिसनले आफ्नो मिसनलाई नछोडेको जस्तो लाग्छ । स्थानीय लेखक तथा साहित्यकारहरुलाई प्राथमिकतामा राखेर मिसनले आफ्ना प्रकाशनहरुलाई निरन्तरता दिएको देखिन्छ । दस वर्षको दौरानमा पहिलोपटक मिसनमा लेख रचना प्रकाशन गर्नेहरु अहिले परिपक्व लेखकको रुपमा स्थापित भएको हुनुपर्छ ।
देशको जल्दोबल्दो समस्या, राजनीतिक, सामाजिक, आर्थिक अवस्था, समसामयिक घटना र समाचारलाई समयमै दिन सकेको हुनाले नै मिसन टुडे लोकप्रिय पत्रिकाको रुपमा स्थापित भएको हो । लेखक तथा साहित्यकारहरुका रचनाहरुलाई महत्त्वका साथ छापिदिँदा लेखकहरुमा उत्साह बढ्छ । उत्साहले हौसला दिन्छ । जसले गर्दा लेखकले आफ्नो लेखनीलाई निरन्तरता दिन्छन् । स्थानीय रुपमा जति स्तरीय लेखकहरु जन्मिन्छन् त्यति नै पत्रिकाको स्तरीयता पनि बढ्दै जान्छ । मिसन टुडे राष्ट्रिय दैनिकले यस क्षेत्रका लेखक तथा साहित्यकारहरुलाई जति अवसर दिएको छ त्यो नै पर्याप्त भने छैन । स्थानीय लेखक र साहित्यकारहरुलाई समेट्दै समय समयमा अन्तरक्रिया गर्दै अगाडि बढ्नुपर्छ । विश्वासिलो छापा माध्यमको रुपमा प्राप्त गरेको विश्वास कायम राख्नका लागि लेखकहरुमा थप उर्जा दिनुपर्छ । अहिले कोहलपुर शिक्षा, स्वास्थ्य, कला, साहित्यको हब बनेको छ ।
कर्णाली र सूदुर पश्चिम प्रदेशको मुख्य द्वारका रुपमा रहेको कोहलपुरको विकासका लागि यस क्षेत्रका बुद्धिजीवीहरु लाग्नुपर्ने भएको छ । प्रकाशित लेख रचनाहरुको अध्ययनले स्थानीय स्तरमा चेतनाको वृद्धि हुन्छ । समुदायमा चेतनाको स्तर सबै मानिसमा एकनासको हुँदैन । पढेर पनि व्यवहार परिवर्तन गर्न नसकेका व्यक्तिहरुमा चेतना जागृत गराउने काम साहित्यले गर्दछ । त्यसैले साहित्यकारहरुसँगको समन्वय र सहकार्यले यस क्षेत्रका लेखकलाई मात्र होइन मिसनलाई समेत उत्कृष्ट र विश्वासिलो पत्रिकाको रुपमा स्थापित गराउनेछ । कोहलपुरको साहित्यको उन्नति र प्रगतिकाका लागि मिसन बलियो खम्बा बनोस् । धेरै लेखक र साहित्यकारहरु जन्माउन सकोस् । धेरै शुभकामना ।










प्रतिक्रिया दिनुहोस्