तीन प्रदेशको संगम ‘कोहलपुर’



गोबिन्दप्रसाद पाण्डे ।

कोहलपुर पश्चिम नेपालका ५ नम्बर प्रदेश, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशको केन्द्र बिन्दुको रुपमा बाँके–बर्दिया राष्ट्रिय निकुञ्जको दक्षिणतिर पूर्व पश्चिम मार्गको काखमा अवस्थित रहेको छ । ‘शिक्षा, स्वास्थ्य क्षेत्रका साथै उद्योग व्यापारमा समेत तीन वटा प्रदेशको संगम बन्ने हैसियत बोकेको कोहलपुरमा जुन गतिमा विकास, निर्माण तथा पूर्वाधार बन्नु पर्ने हो सो गतिमा अगाडि बढेको छैन’ भन्ने गुनासो कोहलपुरका स्थायी बासिन्दाहरुले गरेको पाइन्छ । धेरै पछाडि शहरी पूर्वाधारका काम सुरु गरेको खजुरा गाउँपालिकामा प्रदेश विश्व विद्यालय, खेलकुद पूर्वाधार, अस्पताल, औद्योगिक पूर्वाधार तिब्र गतिमा भइराखेका छन् । यही गतिमा अगाडि बढेमा नेपालगञ्ज, कोहलपुर, खजुरा भनिने क्रममा परिवर्तन भई नेपालगञ्ज, खजुरा, कोहलपुरको अवस्था नआउला भन्न सकिदैन । अहिलेसम्म विकास भएको कथाले त्यस्तै देखाउँछ ।

करिव पाँच वर्ष पूर्व म कोहलपुरमा हुँदा नेपालगञ्जभन्दा पहिला कोहलपुर खुल्ला दिसामुक्त नगर घोषणा तथा आ.व. ०७१÷०७२ को बजेटमा हरित नगर घोषणा तथा हरियालीका लागि एक करोड थप बजेट आएर क्षेत्रीय तथा राष्ट्रिय स्तरमा चर्चित थियो । डुडुवा गाउँपालिकाले एक विगाहा जग्गामा १३ करोडको लागतमा गाउँपालिकाको भवन निर्माणको शिलान्यास गरिसक्यो । आजभन्दा पाँच वर्ष अगाडि नगरपालिकाले सर्वदलीय पहलमा शुरु गरेको कोहलपुर मेडिकल कलेजलाई पचास वर्षको लागि नेपाल सरकारले भाडामा दिएको एक बिगाहा जग्गा कोहलपुर नगरपालिकाको नाममा ल्याई नगर भवन बनाउने प्रकृया त्यतिकै सेलाएको देखिन्छ । यो जग्गालाई पुरानो निर्णयलाई टेकेर नगरपालिकाको नाममा ल्याई कोहलपुर रंगशाला बनाउने प्रकृया अगाडि बढाउनु पर्ने देखिन्छ । हाल कोहलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय भएको भवन विषयगत कार्यालयहरुलाई प्रयोग गर्न दिने गरी हाल कोहलपुर नगरविकास समिति भएको भवन क्षेत्रमा सार्नु उपयूक्त देखिन्छ । आजभन्दा पाँच वर्ष अगाडि आएको कोहलपुर चक्रपथ (हवल्दारपुर, मदनचोक, कौसिल्यानगर, चप्परगौडी, बन्दा, पिपरी, हवल्दारपुर) को निर्माण पनि कछुवाको गतिमा अगाडि बढेको छ ।

यो चक्रपथमा संघ तथा प्रदेशको ठूलो बजेट आउनु पर्छ त्यसो हुन सकेको पाइदैन । कोहलपुर चौराहाबाट ५ कि.मी पूर्व, पश्चिम र उत्तर राजमार्ग विस्तार अभियानको सुरुवात भई नाप नक्सा समेत भई सकेकोमा यसको विस्तार पनि सुस्त छ भने भित्री बाटाबाट चक्रपथ जोडने सहायक मार्ग निर्माण कार्यले समेत गति लिएको पाइदैन । पूर्व–पश्चिम राजमार्ग तथा रत्न राजमार्गको संगम कोहलपुर चौराहामा सार्बजनिक निजी साझेदारी मोडेलमा कोहलपुर नगर विकास समिति तथा सिद्घार्थ बिजनेस गु्रप प्रा.लि.सँगको सहकार्यमा पानी फोहोरा सहितको आधुनिक हरित कोहलपुर चौराहा निर्माण कार्य सुरुवात गरिएको थियो । हाल उक्त पार्क राजमार्गमा रहेको नेपालकै सुन्दर पार्कको रुपमा रहेको छ । पार्कलाई थप आकर्षक बनाउन नियमित मर्मत संभार तथा सौन्दर्यकरणमा ध्यान दिनु आजको आवश्यकता हो । कोहलपुर नगरपालिकाले नगर विकास समिति कोहलपुर तथा लुमन्ती नामक गै.स.स.सँगको सहकार्यमा कोहलपुर न्यूरोड प्रवेशद्वार नजिक रहेको खुल्ला मञ्चमा व्यवसायिक भवन सहितको सार्वजनिक शौचालय निर्माण गरिएको थियो । व्यवसायिक सटरको कारण उक्त सार्वजनिक शौचालयको दिगो व्यवस्थापनमा सहजता भई नमूना शौचालयको रुपमा रहेको छ । यस्ता खालका व्यवसायिक शौचालय ठाउँ ठाउँमा बनाउनु पर्ने देखिन्छ ।

कोहलपुर नगरपालिकाले प्लान नेपाल, गेरुवा तथा लुमन्तीसँगको सहकार्यमा एक वर्षको अवधिमा १३ वार्डमा करिव ५०० थप शौचालय निर्माण तथा दर्जनौ सार्वजनिक शौचालयको मर्मत सुधार गराएर कोहलपुरलाई खुल्ला दिसा मुक्त नगरपालिका घोषणा गरेको थियो । त्यस यता सरसफाई सम्बन्धि निरन्तर तथा ठूला अभियान संचालन हुन सकेका छैनन् । नगरस्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिलाई सकृय बनाएर सो मार्फत वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरेर वडा मातहत टोल सुधार समिति गठन गरी टोल सुधार समितिलाई विकास निर्माण सरसफाई तथा वातावरण संरक्षणमा निरन्तर परिचालन गर्नु पर्ने देखिन्छ ।

पश्चिम नेपालमा कोहलपुर नगरपालिकालाई हरित नगर घोषणा गरी नेपाल सरकार वातावण मैत्री स्थानीय शासन कार्यक्रमबाट थप एक करोड अनुदान प्राप्त गरी कोहलपुर क्षेत्रमा भ्यू टावर, पार्क निर्माण तथा सडक दायांँ वायाँ हरियाली कार्यक्रम अभियानको रुपमा अगाडि बढाइएको थियो । यो अभियानलाई जारी राखी कोहलपुरलाई हरित तथा वातावरण मैत्री नगरको रुपमा विकास गरिनु पर्छ । यसका लागि एक घर पाँच फलफुलका बिरुवा, एक वडा एक पार्क, एक वडा एक तलाउ, चोक चोकमा बर पिपल अभियानलाई निरन्तरता दिनु पर्ने देखिन्छ ।

कोहलपुरमा रहेका सरकारी तथा प्रति ऐलानी जग्गा यकिन गरेर संरक्षण गरी संघ तथा प्रदेश स्तरीय कार्यालय स्थापना गर्ने तर्फ पहल गरिनु पर्छ । कोहलपुर नगरपालिका वडानं ८ गोल्छा प्लटिङको उत्तरतिर रहेको खाली जग्गामा २०७२ सालमा हामीले शहरी विकासबाट रकम निकासा गरेर कम्पाउण्ड घेर्न लगाएको थियौं । सो ठाउँमा व्यवस्थित सब्जी मण्डी बनाउने योजना थियो । त्यो ठाउँ हालसम्म प्रयोग बिहिन छ । त्यो ठाउँको अगाडि राजमार्ग तिरको भागमा सब्जी मण्डी बनाएर पछाडि कुनै सरकारी कार्यालय बनाउनलाई उपलब्ध गराउन सकिन्छ ।

सुरुका दिनमा कोहलपुर नगपालिकामा करिव ५०० जना महिलालाई नि;शुल्क लोक सेवा तयारी कक्षा, ५०० महिलालाई विभिन्न प्रकारका सिपमुलक तालिम प्रदान गरी क्षमता विकास गरेर लैिङ्गक समता कायमको लागि जोड्दार पहल गरिएको थियो । बालबालिका तथा साहित्यकारहरुको लेखन सीप वृद्धिका लागि निबन्ध लेखन तथा कथा लेखन सिपमा जोड दिदै कला, साहित्य तथा संस्कृतिको संरक्षणमा पहल सुरु भएको थियो । कला, साहित्य र संस्कृति स्थानीय पहिचान् हुन् । यिनीहरुलाई महत्व दिँदै नगरका युवा जनशक्तिको प्रतिस्पर्धी क्षमता विकास र रोजगारी सिर्जना गर्न यस्ता खालका तयारी कक्षा र अग्रेजी भाषा, डाइभिङ कप्प्यूटर, सेक्रेटरी, सेक्यूरिटी, केयर गिभर, कुक, वेटर जस्ता सिपमुलक तालिमहरुलाई निरन्तरता दिनु पर्छ जस्ले गर्दा रोजगारी सृजनामा टेवा पुग्छ । सुरुका वर्षहरुमा कोहलपुरका करिव ३० वटा सडकलाई न्यूनतम ६ मिटरको मापदण्डमा ल्याइएको थियो ।

न्युनतम ६ मिटर चौडा सडक नभएको ठाउँमा नगरपालिकाले विकास गतिविधि नगर्ने नीति लिइएको थियो । जसको कारण कोहलपुरका आम नागरिकहरुले सडक चौडा गर्नको लागि स्वःस्फूर्त अभियानको रुपमा आफ्ना घर तथा पर्खाल फोड्न सुरु गरेका थिए । यो अभियानलाई निरन्तरता दिनु पर्छ । सडक चौडा गर्ने विषयमा कसैले पनि सम्झौता गर्नु हुँदैन । राजमार्ग बनाउँदा सेन्टर केन्द्र बिन्दुबाट ३१ मिटर दायाँ बायाँ गरी ६२ मिटरको मापदण्ड राखेकोले आज हामी फोर लेन र सिक्स लेन सडकका सपना देख्ने गर्छौ । नगरका साना साना गल्ली बाहेक सबै ठाउँका सडकहरु न्युनतम दोहोरो नाली सहित ८ मिटरका हुने गरी मापदण्ड तयार गरिनु पर्छ ।

सुरुका वर्षहरुमा कोहलपुर नगरपालिकाले लुमन्ती नामक गैर सरकारी संस्था तथा अन्य सरोकारवालाहरुसँगको सहकार्यमा कोहलपुरका प्रत्येक गाउँ तथा टोलमा वातावरण तथा सरसफाईको काम गर्नको लागि करिव ६० वटा टोल सुधार समिति गठन गर्नुका साथै टोल सुधार समितिका पदाधिकारी र सदस्यहरुको क्षमता विकास गरेर टोल सुधार समितिलाई गाउँ टोलहरुमा नियमित रुपमा वातावरण तथा सरसफाईको काममा परिचालन गरी नगरको वातावरण तथा सरसफाई प्रबद्र्घन अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो । आगामी दिनमा यस्ता अभियानलाई निरन्तरता दिनु पर्छ । नगरपालिका स्थापना हुँदाका सुरुका दिनमा नगरको बिकासको लागि त्यहाँका राजनैतिक दल, व्यवसायी, नागरिक समाजको एकमत हुने गरेको थियो ।

नगरमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रतिनिधीहरु पनि रातदिन कोहलपुर नवनिर्माणमा खट्नु भएको थियो भने कोहलपुर नगर विकास समिति, उद्योग ब्यापार संघ लगायतको सहकार्य पनि उल्लेखनिय थियो । आउँदा दिनमा कोहलपुरको समग्र विकासका लागि नगरपालिकाले नेतृत्वदायी तथा समन्वयकारी भूमिका खेलेर सबै राजनैतिक दल व्यबसायी तथा नागरिक समाजसँगको सहकार्यको वातावरण निर्माण गरी कोहलपुरलाई विकास निर्माणमा नेपालगंज र खजुरा गाउँ पालिकाको प्रतिस्पर्धी होइन ५ नं प्रदेश, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशको त्रिप्रदेश स्तररिय केन्द्र बिन्दुको रुपमा बिकास गरिनु पर्ने देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रबार