कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका र निर्माण उपभोक्ता समितिको चरम लापरवाहीका १० लाखको लागतमा निर्माण गरिएको पक्की पुल एक वर्ष नपुग्दै भासिएको छ ।
गत वर्षको असारे विकाससँगै निर्माण गरिएको वडा नं.१२ र १३ जोड्ने रोहिणी खोला पक्की पुल एक वर्ष नपुग्दै केहिदिन पहिले आएको वर्षाका कारण खोलामा भासिएको हो ।
मापदण्ड विपरित गरिएको निर्माण तथा गलत डिजाइनका कारण पुल छिट्टै भत्किएको स्थानीयहरु बताउँछन् ।
हिउँदमा आएको खोलाले नै पुलको एक तर्फको भाग भासिएको भएपनि केहि दिनअघि आएको वर्षाका कारण दुवै पिलर तर्फको भाग खोलाले कटान गर्दा पुल खोलामा भासिएको छ । पुल भासिएपछि दुबै वडाका स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ ।
उपभोक्ता समिति मार्फत करिब १० लाखको लागतमा निर्माण गरिएको सो पुल गुणस्तरहिन प्रमाणित भएपनि नगरपालिकाले पास गररे भुक्तानी दिएको पाइएको छ ।
नगरपालिका अन्तर्गतकै अनुगमन समितिले पुलको अनुगमन गर्दा गुणस्तर मापदण्ड अनुसार नपाइएपछि भुक्तानी रोकेपनि कार्यपालिका बैठकबाट पारित गरेर भुक्तानी दिएको खुलेको हो ।
अनुगमनका क्रममा पुल निर्माण कार्य मापदण्ड विपरित पाइएपछि आफूले पास नगरेपछि नगरसभामा प्रस्ताव लिएर नगरकार्यपालिकाको बैठकले पारित गरेको अनुगमन समिति संयोजक सन्जु कुमारी चौधरीले जानकारी दिइन् ।
‘अनुगमनमा जाँदा पुल मापदण्ड विपरित निर्माण गरेको पाइएपछि समितिले पास गरेन । उनले भनिन्, ‘त्यसपछि खै कसले नगरसभामा प्रस्ताव लियो । त्यहि कार्यपालिका बैठकबाट नै पारित भएको हो ।’
यस्तै उक्त पुल निर्माण गर्दा आर्थिक अनियमितता भएको त्यहाँका स्थानीयहरुको आरोप रहेको छ । पुल निर्माण भइसकेपछि पनि खर्चको विवरण सार्वजनिक नगरि सुचना वोर्ड समेत नराखिनुले ठेकेदार र निर्माण उपभोक्ता समितिको मिलेमत्तोमा आर्थिक अनियमितता हुन सक्ने उनीहरुले आँकलन गरेका छन् । पुल निर्माण गर्नु भन्दा केहिवर्ष पहिले नै लुमन्तीको करिव २ लाख ८० हजार रुपैयाँ सहयोगमा दुबैतर्फ पिलर निर्माण गरिएको थियो ।
गतवर्ष नगरपालिकाबाट आएको १० लाख रकमले ९ मिटरको ढलान तथा पिलर वरिपरि केहि भाग ग्रावेल मात्रै गरिएको वडा नं.१३ का स्थानीय ढाल बहादुर मल्लले बताए । पुल निर्माणका लागि उपभोक्ता समिति गठन गर्दा सुरुमा चयन गरिएको अध्यक्षलाई हटाएर नयाँ अध्यक्ष चयन गरिएका भन्दै उनले त्यसमा पनि कुनै रहस्य हुन सक्ने बताए ।
उनले निर्माण सम्पन्न भइसकेपछि पनि सार्वजनिक सुनुवाई नगर्नुले भ्रष्टाचार हुन सक्ने भन्दै सत्य, तथ्य छानविन गरी दोषीमाथि कारवाहीको माग समेत गरे ।
अर्का स्थानीय लाल बहादुर बुढाथोकीले पुल भासिएपछि स्थानीयहरुलाई आवतजावतमा निकै समस्या भएको बताए । कुनै काम परेर बजार जानुपर्दा पुलबाट एकैछिनमा पुगिन्थ्यो । उनले भने, ‘अहिले करिब आधा लाग्छ ।’
उपभोक्ता समितिले पुल निर्माण गरेपनि स्टेमेट अनुसार नगररे झारु टार्ने काम मात्रै गरेकोले एक वर्ष नपुग्दै भासिएको उनको भनाई छ । यस्तै वडा नं.१२ की स्थानीय तुल्सी परियारले खोलामा वर्षाको समयमा ठूलो पानी आउने भएकाले त्यहिअनुसारको पुल निर्माण नहुँदा छिट्टै भत्किएको बताइन् । उनले भनिन्, ‘पुल सानो भयो, पानी छिर्ने ठाउँ भएन ।
खोलाले जमिन कटान गर्दै गएपछि पुल भत्कियो ।’ पुल भत्किएपछि बच्चाबच्चीलाई विद्यालय जान पनि समस्या हुने गरेको उनको भनाई छ ।
यस विषयमा पुल निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुले भने एक अर्काप्रति आरोप प्रत्यारोप लगाउने गरेका छन् । आफूहरु निर्माण समितिमा बस्न नचाहँदा नचाहँदै दबाब बस्न बाध्य बनाइएको बताएका छन् । निर्माण समितिका अध्यक्ष रामलाल घर्तिले आफू समितिमा बस्न नचाहे पनि सचिबले बस्न भनेपछि बसेको बताए । उनले भने, ‘मलाई बस्न मन थिएन् । सचिव केश कुमारीले कहि गर्नु पर्दैन । सिग्नेचर मात्र गर्नुपर्छ, अरु सबै हामी गर्छौ भनेपछि म समितिमा बसेको हुँ ।’
उनले थपे, ‘कहाँ कति खर्च भयो, मलाई केहि पनि थाहा छैन् ।’ समितिकी कोषाध्यक्ष शुसिला वलीले पनि समितिका अन्य पदाधिकारीहरुले बस्ने आग्रह गरेपछि मात्रै बसेको बताइन् । उनले भनिन्, ‘म अन्य संस्थामा आवद्ध थिए । आफूले बस्न नचाहे पनि सबैले बस्न भनेपछि बसेकी हुँ । यसको बारेमा सचिव ज्यूलाई नै थाहा छ । उहाँसँगै बुझ्दा हुन्छ ।’
यस्तै समितिकी सचिव केश कुमारी भण्डारी वलीले सबैले आफू बच्नका लागि एक अर्कालाई आरोप लगाउने गरेको बताइन् । उनले पनि आफू वडाका जनप्रतिनिधि र स्थानीयको दबावमा समितिमा बसेको बताइन् । उनले भनिन्, मैले समितिमा बस्दिन भन्दा मलाई स्थानीयहरुले विकास विरोधी भने ।
समितिमा नाम पनि उनीहरुले पहिले नै राखिदिएका रहेछन् । कम बजेटमै काम गरियो, अहिले पुल भत्किएपछि आरोप लगाउँछन् ।’ निर्माण गर्दाखेरी नै खोला आएपछि पुलको बिचमा राखिएको टेको चर्किएपछि आफूलाई आत्मग्लानी भएर सार्वजनिक सुनुवाई नगरेको उनको भनाई थियो ।
यस विषयमा कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष ओम प्रकाश वलीसंग बुझ्दा पुल गुणस्तरीय नभएका आफूहरुको असन्तुष्टि हुँदा हुँदै नगरपालिकाबाट पास गरिएको बताए । ‘पुलको गुणस्तर छ कि छैन, पास हुन्छ कि हुँदैन भनेर नगरप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, नगरपालिकाका प्रवक्तालाई लिएर प्रत्यक्ष देखाएको हुँ ।
उनले भने, यसबारे नगरसभामा पनि कुरा उठ्यो तर हाम्रो असन्तुष्टि हुँदा हँदै पनि पास गरियो ।’ पुल निर्माणको समयमा स्वास्थ्य उपचारका लागि काठमाण्डौँमा भएकाले आफूहरुबाट पनि रेखदेखमा केहि कमीकमजोरी भएको स्वीकार गरे । पुल गुणस्तरिय नभएको असन्तुष्टि हुँदा हुँदै भभुक्तानी दिने नगरपालिकाका जनप्रतिनिधि, तत्कालिन प्रमुख प्रशासकिय अधिकृत, अनुगमन समितिको ठूलो लापरवाही रहेको उनको भनाई छ ।
यस्तै वडा नं.१२ का कार्यवाहक अध्यक्ष नैन बहादुर शाहीले पुलको स्टेमेट नै गलत भएकाले छिट्टै भत्किएको बताए । वडा नं.१२ र १३ जोड्ने पुल खोलाले भत्काएको स्थानीयले जानकारी गराएपछि आफू त्यहाँ पुगेको उनले बताए । अहिले पुलमा आवतजात गर्न मिल्ले अवस्था समेत नरेहको उनले बताए । ‘म त्यहाँ गएर अनुगमन गरे । उनले भने, ‘स्थाीयले खबर गरेपछि म त्यहाँ पुगे ।
पुल एकदमै नाजुक अवस्थामा छ, आवतजावत गर्न पनि खतरा छ ।’ उता सुरुमा निर्माण उपभोक्ता समिति गठन गर्दा अन्य संस्थामा आवद्ध रहेको भन्दै पहिलेको अध्यक्षलाई समितिबाट हटाइए पनि समितिकै अरु पदाधिकारीहरु भने अन्य संघ संस्थामा आवद्ध रहेको पाइएको छ । निर्माण भएको एक वर्ष नपुग्दै पुल खोलामा भासिएपछि स्थानीयले छानविन गर्न माग समेत गरेका छन् ।
अहिले वडा नं.१२ र १३ जोड्ने उक्त पुल भासिएपछि आवतजावत बन्द हुँदा स्थानीयलाई सास्ती भएको छ । उक्त पुलका विषयमा अख्तियारले समेत अनुसन्धान थालेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्