उद्यमीका समस्या बुझ्दै घरेलु महासंघ



कोहलपुर ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले खासगरी घरेलु उद्यमीका समस्याहरु बुझ्नका लागि छलफल सुरु गरेको छ । साना उद्यमीहरुका समस्या बुझेर समस्याहरुको सहजिकरण गर्नको लागि महासंघले छलफल चलाउन सुरु गरेको हो । सो कामको बाँकेको खजुराबाट सुरुवात गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव गिरीराज भुषालले जानकारी दिए । ‘हामीले खजुरा कार्यसमिती अन्तर्गत रहेका सदस्य तथा व्यवसायीहरुसँग छलफल गरिसकेका छौं’ उनले भने, ‘छलफलको क्रममा लकडाउनले सबैभन्दा बढी मार नै घरेलु उद्योगहरुलाई परेको पाइयो ।’

उद्योगका समस्या, बैंक, बिमा, कच्चापदार्थ, बजारिकरण अवस्था तथा सम्पुर्ण उद्योग चलायमान बनाउनलाई आवस्यक पर्ने बैंकको सहयोगमा सहजीकरण, बिमा सहजीकरण तथा जोखिम कम गराउनका बिमा गर्न आह्वान गर्ने, कच्चापदार्थ उपलब्धता सहजीकरण, बजारिकरणमा सहयोग आदि सहयोग सहजीकरण गर्ने उद्देश्य राखिएको उनले बताए । महासंघका महासचिव भुषालले उद्योग निरीक्षण तथा अवलोकन जिल्लाका सबै पालिकाहरुमा हुने जानकारी दिए । उनका अनुसार सबै पालिकाका उद्योगी व्यवसायीहरुसँग छलफल चलाउनको लागि विभिन्न व्यक्तिहरुलाई जिम्मा दिइएको छ । उद्योगलाई सहज चलाएमान बनाउनका लागि बैंक तथा बजार बिस्तारमा मद्दत पनि गर्ने मुख्य उद्देश्य महासंघ बाँकेले सुरुवात गरेको कार्यक्रमको हो ।

महासंघकी बाँके अध्यक्ष मधु खड्काले यो कार्यक्रमले साना उद्यमीहरुलाई सहज हुने बताइन् । ‘कोरोना कहरका कारण गरिएको लकडाउनका कारण यहाँका साना उद्यामी बढी मर्कामा परेका छन्’ उनले भनिन्, ‘सानो लगानीमा सञ्चालनमा रहेका उद्योगहरुलाई लकडाउन खुलेपनि समस्या देखिन्छ ।’ यस्तो समस्याहरुलाई केही भएपनि महासंघले सहजिकरण गरिदिन सक्छ की भनेर व्यवसायीहरुसँग सम्बन्धित ठाउँमा नै गएर छलफल चलाइएको उनले बताइन् । महासंघ कोहलपुर नगर कमिटी अध्यक्ष हेमविक्रम जिसीले जिल्लाले साना उद्यमीसँग छलफल गर्दै समस्याहरुलाई सहजीकरण गरिदिने काम राम्रो भएको बताए ।

‘जिल्लाले गरेको यस्तो कामलाई हामीले पनि साथ दिन्छौं’ उनले भने, ‘साँच्चीकै साना उद्यमीलाई समस्या परिरहेको बेला कार्यक्रम ल्याएको छ । यसले केही भएपनि समस्या समाधान गर्नमा सहजीकरण हुनेछ भन्ने आशा लिएका छौं ।’ प्रत्येक पालिकामा रहेको आफ्नो कमिटीका साथै त्यहाँ व्यवसायीहरुसँग समेत महासंघको टोलीले छलफल गर्दै समस्या समाधानको लागि उपाय समेत खोज्नेछ । अहिले पनि पालिकामा जिम्मा पाएका महासंघका पदाधिकारीले त्यहाँका व्यवसायीसँग छलफल गर्दै समस्या समाधानका लागि सहजिकरण गरिरहेको महासंघका महासचिव भुषालले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २ गते मंगलबार