कोहलपुर टाउन प्लानिङमा विद्युतिकरण सकिदैं



कोहलपुर ।

बाँकेको कोहलपुर टाउन प्लानिङ क्षेत्रमा विद्युतिकरणको काम अन्तिम चरणमा पुगेको छ । आधुनिक सहरको मापदण्ड अनुसार डेढ वर्ष अघि सुरु गरिएको विद्युतिकरणको काम अन्तिम चरणमा पुगेको हो । उक्त विद्युतिकरण कोहलपुर नगर विकास समितिको २ करोड ५६ लाख लागतमा वाइबा इन्फ्राटेक निर्माण प्रालिले निर्माण गरिरहेको छ । यसअघि लाइन चार्जिङ् बाहेक अन्य काम गत कार्तिक १५ गतेअघि नै सम्पन्न भइसकेको बताइएको थियो । अन्य काम पनि भूक्तानी लगायत विभिन्न कारणले रोकिएको उतीबेला निर्माण कम्पनीले बताउँदै आएको थियो । काम गरेको रकम पाउने पक्का भएपछि अहिले लाइन प्रशारणका लागि जडान गरेका नयाँ ८ वटा ट्रान्सफर्मर अन्य सामग्रीहरु पनि चार्जिङ गरी सकिएको निर्माण कम्पनीले जनाएको छ । जसअन्तर्गत २ वटा १०० केभिए र ६ वटा ५० केभिए ट्रान्सफर्मर लगायत ३०० वटा ११ मिटरको पोल, १५२ वटा ९ मिटरका पोल, ६१ किलोमिटर डक कन्डक्टर चार्जिङ् गरिएको निर्माण व्यवसायी त्रिलोक धितालले जानकारी दिए ।

‘हामीले अहिले आठ वटा १०० र ५० केभिएका ट्रान्सफर्मर चार्जिङ् गरिसकेका छौँ’ उनले भने, ‘त्यसका साथै ३०० वटा ११ मिटरको पोल, १५२ वटा ९ मिटरका पोल, ६१ किलोमिटर डक कन्डक्टरहरुमा पनि लाईन चार्जिङ् भइसकेका छन् ।’ आफूहरुको स्टमेटमा रहेका ३०० वटा सर्भिस केबलहरु पनि सिफ्ट गरिसकेको जानकारी दिँदै अन्य बाँकी काम विद्युत प्राधिकरणले गर्ने उनले बताए । ‘मेरो स्टमेटमा ३०० वटा सर्भिस केबलहरु सिफ्ट गर्नुपर्ने हो । अरु बाँकी विद्युत प्राधिकरणले गर्ने हो ।’ धितालले भने, ‘पछि फेरि कुनै समस्या नहोस् भनेर एक दुई दिन बढी काम गरेर अरु पनि केहि लाइनहरु मिलाई दिन्छु ।’ अन्य सबैका निर्माण कार्य सम्पन्न भइसकेकोले अब लाइन सिफ्टिङको काम मात्रै बाँकी रहेको उनको भनाई रहेको छ । लाईन सिफ्टिङ कार्य एकै पटक सम्भव नरहेकोले छुटेका ग्राहकहरु आएपछि प्राधिकरणले जोड्दै जाने निर्माण व्यवसायी धितालले बताए । आइतबारदेखि नै न्यूरोड क्षेत्रकोे लाइनमा विद्युत प्रशारण सुरु भइसकेको र अन्य क्षेत्रमा पनि केहि दिनमै सुचारु हुने उनले जानकारी दिए । यस्तै नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख रुमेश रुपाखेतीले परीक्षणका रुपमा लाईन सुचारु भइसकेको बताउँछन् ।

ट्रान्सर्फमर लगायत हाइटेन्सन लाइन चार्ज भइसकेकोले ७० प्रतिशत लाइन सुचारु भइसकेको उनले जानकारी दिए । ‘अहिले परीक्षणका रुपमा लाइन सुचारु भइसकेको छ’ उनले भने, ‘ट्रान्सर्फमर र हाइटेन्सन लाइन पनि चार्ज भइसक्यो । ७० प्रतिशत लाइनमा विद्युत प्रशारण भइरहेको छ ।’ नाली खन्ने क्रममा एक दुई ठाउँका पोलहरु ढलेको ती ठाउँमा लाइन सुचारु हुन नसकेको भन्दै प्रमुख रुपाखेतीले केहि दिनमै सबै ठाउँमा विद्युत प्रशारण हुने दाबी गरे । अन्य सबै काम पुरा भइसकेकोले लाइन चार्जिङ् गरेर मिलाउन मात्रै बाँकी रहेको उनले बताए । ‘अरु सबै काम सकिसकेको छ । लाइन चार्ज गरेर मिलाउन बाँकी रहेको छ । लाइनमा कति लोड दिने, अपलोड गर्ने भन्ने हुन्छ ।

त्यो मिलाएपछि सबै ठाउँमा केहि दिनमै विद्युत प्रशारण हुन्छ’ उनले भने । यता टाउन प्लानिङ क्षेत्रमा आधुनिक विद्युतीकरणको काम अन्तिम चरणमा पुगे पनि केहि ठाउँमा अझै पनि उपभोक्ताहरुले पुरानै पोलबाट तार जडान गरेको पाइएको छ । न्यूरोडबाट बसपार्क निस्कने बाटोमा अझै पनि पुरानै पोलबाट तार तानेर टाढा टाढासम्म उपभोक्ताहरुले बत्ती जोड्नु पर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् । घरमा लाइन दिँदा करिब ३०÷४० मिटर टाढाबाट तार तान्नु पर्ने समस्या रहेको छ । बसपार्क तर्फ निस्कदा न्यूरोडको खुला मैदान छेउमै पुराना पोलहरुमा तारहरु लत्रेको समेत देख्न सकिन्छ । यसले गर्दा सहरको सौन्दर्यता बिग्रेको छ नै । दुर्घटनाको जोखिम समेत बढेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २ गते मंगलबार